१६ जेष्ठ २०८३, शनिबार

चीनबाट मिटरव्याजमा पैसा लिएर निर्माण भएको पोखरा विमान भ्रष्टाचार बारे अख्तियारले बयान लिने

एसीपी संवाददाता

२३ मंसिर २०८१, आईतवार १७:२८ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र घोटाला काण्डका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ ।

आइतबार बिहान कार्यालय समय शुरु भएपछि नक्सालस्थित अख्तियारको मुख्यालयमा महानिर्देशक अधिकारीसँग बयान लिएको अख्तियार निकट उच्च स्रोतले जनाएको छ । महानिर्देशक अधिकारी अख्तियारमा करीव ९ बजेर ३० मिनटमा प्रवेश गरेको स्रोतको भनाइ छ । अख्तियारले महानिर्देशक अधिकारी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालाका विषयमा अन्तिम चरणको बयानहरू लिएको स्रोतले उल्लेख गरेको छ ।

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घोटाला र अनियमिततामाथि अनुसन्धान गर्दै आएको छ । अख्तियारले पोखरा विमानस्थलको कागजपत्रसहितका फाइल कब्जा गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमिततामाथि संसदको सार्वजनिक लेखा समितिले समय उपसमिति गठन गरेर अनुसन्धान गर्दै आएको छ । उपसमितिमा पनि महानिर्देशक अधिकारीले बयान दिएका छन् ।

चीनबाट मिटरव्याजमा पैसा लिएर निर्माण भएको आरोप लाग्दै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भ्रष्टाचार भएको आरोप छ । संयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख प्रदीप अधिकारी नै थिए ।

अख्तियारले छापा मारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सबै फाइल लगेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताका सम्बन्धमा अख्तियारले पटक पटक पत्राचार गरी मागेका कागजात तथा फाइल नदिएपछि २०८१ मंसिर २१ गते नागरिक उडड्यन प्राधिकरणको नयाँ प्रधान कार्यालय सिनामंगलमा अख्तियारमा कार्यरत प्रहरी गई पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको परामर्श सेवा र ओ. एल. एस.मा परेको छिन्नेडाँडा कटानसंग सम्बन्धित फाइल अख्तियारमा लगेको स्रोतले जनाएको छ ।

विशेष अदालतले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै भ्रष्टहरूलाई कैद, सजाय र दण्डजरिवाना गरेपछि अब नागरिक उडड्यन प्राधिकरणको भ्रष्टाचारसंग सम्बन्धित निर्माण कार्यमा भएको हालसम्मको ठूलो मुद्दा तत्काल दायर गर्ने तयारी गरको अख्तियार निकट स्रोतले जानकारी दिएको छ ।

६ जना १२औं तहका वरिष्ठ कर्मचारीहरू हुँदाहुँदै तत्कालीन संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र माधवकुमार नेपाललाई खुसी पारी अधिकारी प्राधिकरणको महानिर्देशक बन्न सफल भएका थिए । अधिकारी सातौं तहदेखि महानिर्देशक हुँदासम्म सधैं विवादमा छन् । उनले विवादित कामहरू गर्दै आएको आरोप लाग्दै आएको छ ।

अख्तियारले महानिर्देशक अधिकारीसँग बयान लिएको विषयमा प्रक्रिया लिन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेयसँग प्रक्रिया लिन प्रयास गर्दा पाण्डेय सम्पर्कमा आउन चाहेनन् । फोन सम्पर्क भएका व्यक्तिले पाण्डेयको निजी सचिवालयमा सम्पर्क गर्न भने पनि सम्पर्क हुन सकेन ।रिपब्लिकादैनिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x