लुम्बिनी कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी तीब्र
नेपालगञ्ज । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा आज पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा हुँदैछ ।
नेपालगञ्ज रंगशालामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा संचालन गर्न युद्धस्तरमा तयारी थालिएको जानकारी गराए । ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौ’—कार्यकारी प्रमुख शाहले भने । प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहने शाहले बताए । पत्रकाद्वारा सोधिएको प्रश्नको जवाफमा शाहले भने—‘स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलव्ध गराइनेछ ।’
एक अर्को प्रश्नको जवाफमा शाहले भने–‘लुम्बिनी कप महिला फुटबलको सचिवालय नेपालगञ्ज रंगशालामा स्थापना भइसकेको छ । ‘हामीले विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल शुरु गरिसकेका छौं । यति ठूलोे प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्नु नै मुख्य चुनौति रहेको बताउँदै उनले प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्ने बताए ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टीम सहभागी गराउने तयारी थालिएको बताए । पत्रकार भेटघाट कार्यक्रममा मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी गराएका थिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगिताको प्रचार-प्रसारमा पत्रकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सहजरुपमा समाचार संकलन गर्ने ब्यवस्था मिलाउन आयोजकको ध्यानाकर्षण गराए । बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा प्रकाश पारेका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्द लगायतको उपस्थिति रहेको थियो ।



