१९ श्रावण २०८३, मंगलवार

पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित

एसीपी संवाददाता

१५ चैत्र २०८१, शनिबार २०:५३ मा प्रकाशित

राजावादी समर्थकले गरेको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले कार्यस्थलमै पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विरोध र्‍यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडक प्रदर्शन गरेका थिए ।

चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईंले नेपाली पत्रकारिता क्षेत्रमा कालो दिन आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे ।

पत्रकार राजु खरालले आन्दोलनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भए पनि पछिल्लो समय आन्दोलन हिंसात्मक बन्नु दुखद भएको बताए।

त्यस्तै, प्रेस चौतारीका अनुशासन आयोग सदस्य जानू पाण्डे, पत्रकार महासंघका पूर्वअध्यक्ष किरणमान ब्रजाचार्य लगायतका वक्ताहरूले पत्रकारहरूको सुरक्षामा राज्य गम्भीर नबन्दा यस्ता घटनाहरू दोहोरिइरहेको टिप्पणी गरे ।

उनीहरूले आन्दोलनको नाममा कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट लगायतका सञ्चारगृहमा भएका आक्रमणहरूको समेत भर्त्सना गर्दै पत्रकार सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x