२८ बैशाख २०८३, सोमबार

सरकारी ठेक्का ह्याकिङ : पूर्वमन्त्री पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

एसीपी संवाददाता

२८ बैशाख २०८३, सोमबार २०:०२ मा प्रकाशित

सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भरमा ह्याकिङ गरी सरकारी ठेक्का हत्याउनेमा संलग्न २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौंमा तीनवटा कसुरमा मुद्दा दायर गरेको छ ।

पूर्वमन्त्रीसमेत रहेका राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीविरुद्ध विद्युतीय अपराध, संगठित अपराध र अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

पूर्वमन्त्री पाण्डेसहित आशिष निर्माण सेवाका ऋषिकेश गौली, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगाना, आइकोन प्रालिका स्वदेश पोखरेल, चपुर निर्माण सेवाका अमृत बोहरा, भिसान कन्स्ट्रक्सनका टंककुमार श्रेष्ठ, सिभांस निर्माण सेवाका अनिल श्रेष्ठ, गीताञ्जली कन्स्ट्रक्सनका जीवनकुमार दास, कटुवाल कन्स्ट्रक्सनका सागर कटवाल, थुम्का निर्माण सेवाका सञ्जय भट्ट, इन्जिनियर भाष्करराज अर्याल, भरत धामी र सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर मुद्दा दायर भएको हो ।

त्यस्तै, केबिके कन्स्ट्रक्सनका राहुलजंग कार्की, रमिता इन्फ्रास्ट्रक्चरका इन्द्रबहादुर बोहरा, एमके कन्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, नन्दी कन्स्ट्रक्सनका कृष्णकुमार खत्री, आशिष निर्माण सेवाका कर्मचारी ज्योति सुवेदी, चपुर निर्माण सेवाका सरोज दाहाल तथा राइजिङ पिक कन्स्ट्रक्सनका सञ्चालक सुजन अधिकारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

पूर्वमन्त्री पाण्डेले पूर्व–पश्चिम राजमार्गको बकैया नदीमा पुल निर्माणसम्बन्धी ठेक्कामा ह्याक गरेर आर्थिक प्रस्ताव संशोधन गरेका थिए । सुरुमा ६७ करोड ५१ लाख रुपैयाँ रहेकोमा पछि ६० करोड ५४ लाख हालेर ठेक्का हत्याएका थिए । उनले बयानमा आफूलाई केही जानकारी नभएको दाबी गरेका छन् । पाण्डेविरुद्ध संगठित अपराध र क्रिप्टो कारोबारको अभियोग नलगाई सरकारी वकिलले विद्युतीय कारोबार ऐनको मात्र लगाएको छ । नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x