बेईजिङ शीतकालीन ओलम्पिकका बीच देखिए नयाँ कोरोना संक्रमणका १३ बिरामी
बेइजिङ । चीनमा सुरु भएको शीतकालीन ओलम्पिकका बीच चीनमा कोरोना भाइरसको संक्रमणको नयाँ भेरियन्टका बिरामी देखिएका छन्।
पछिल्लो २४ घण्टामा चीनमा स्थानीयरुपमा संक्रमित भएका १३ जना बिरामी फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। स्थानीयरुपमा संक्रमण देखिएकामध्ये ६ जना ग्वाङ्सी प्रान्तमा, चार जना जना तियाजिन र हेबेइमा र पाँच जना बेइजिङ, हुनान र ग्वाङडोङमा देखिएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ।
त्यसैगरी अन्य ३० जना विभिन्न मुलुकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको राष्ट्रिय स्वास्थय आयोगले जनाएको छ। कोरोना महामारी शून्य बनाउने नीति अवलम्बन गरेको चीनले विभिन्न प्रान्तहरुमा भने अझै कडा प्रतिबन्धात्मक नियमहरु जारी गरेको छ।
चीनको वुहान प्रान्तमा फेरि नियोकोभ भाइरसको भेरियन्ट देखिएपछि चीन सशंकित बनेको हो। एकातिर ओलम्पिक सुरु गरेर विश्वलाई कोरोना महामारी नभएको सन्देश दिन खोजेको चीनले आफ्ना नागरिकलाई भने संक्रमण फैलिनसक्ने भन्दै घरभित्रै थुनेर राखेको अवस्था छ।
यसअघि आफूहरुलाई चीन सरकारले लगातार दुई वर्षदेखि घरभित्रै थुनेर राखेको भन्दै नागरिकहरु आन्दोलित भएका थिए। उनीहरुले घरभित्रै आफूहरुलाई दैनिक जीविका चलाउन पनि संकट भएको भन्दै बाध्य भएर सरकारको नीतिविरुद्ध बोल्न थालेको बताएका थिए।
चीनमा कोरोना महामारीका कारण हालसम्म पाँच हजारको मृत्यु भइसकेको छ। तर, चीनले मृत्यु हुनेहरुको तथ्यांक लुकाएको आरोप पनि लागिरहेको छ।


