सभामुख अग्नि सापकोटाविरुद्ध यसरी आउँदैछ महाभियोग
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव आउने भएको छ । एमसीसीमा सापकोटा बाधक बनेको भन्दै नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याउने भएको हो ।
महाभियोग प्रस्तावमा नेपाली कांग्रेसको समर्थन रहेको कांग्रेस नेताहरु बताउँछन् । माधव नेपालसहित १४ सांसदको कारवाही रोकेर सभामुखले पक्षपात गरेको एमाले महाभियोग ल्याउने तयारीमा छन् ।
यता एमसीसी फागुन १६ भित्र पारित गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सभामुख बाधक बन्ने अवस्थामा महाभियोग लगाएर अघि बढ्ने पक्षमा छन् । एमालेलाई महाभियोग ल्याउन भन्ने र त्यसमा समर्थन गर्ने देउवा रणनीति छ ।
त्यसपछि गठबन्धनभित्र सहमति खोज्ने र सभामुखलाई मनाउने र तर त्यसो हुन नसकेमा महाभियोग अगाडि बढाउने प्रधानमन्त्री देउवाको रणनीति रहेको उनी निकट नेता बताउँछन् ।
सहमति नजुटे सभामुख हटाउन सत्ताबाहिर रहेका दलहरुसँग छलफल गर्ने र संसदको नियमावलीमा टेकेर अगाडि बढ्ने विकल्प देउवाले तयार पारेका छन् । गठबन्धनमा एमसीसीबारे सहमति नजुटे सभामुख सापकोटालाई हटाउने बालुवाटारको भित्री तयारी छ ।
सभामुखविरुद्ध महाभियोग आए पनि पारित गर्न दुईतिहाइ चाहिन्छ । यस्तोमा एमालेसहित लोसपा र जसपाको बाबुराम पक्षलाई साथमा लिएर कांग्रेसले हटाउने रणनीति बनाएको एक नेताले बताए ।
कांग्रेस नेता मीन विश्वकर्मा विभिन्न विकल्पमा छलफल भइरहेको र एमसीसी पारित गराउन निर्मम कदम चालिने बताउँछन् ।


