४ असार २०८३, बिहीबार

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल जारी : गृहमन्त्री खाँण

एसीपी संवाददाता

१६ असार २०७९, बिहीबार ०७:१० मा प्रकाशित

काठमाडौं –  गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन्।

उनले सो विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘नागरिकता सम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रुपमा अहिले प्रतिनिधि सभामा छ। त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ। र त्यसलाई पनि एउटा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ।’उनले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने उल्लेख गरे।

गृहमन्त्री खाँणले भने, ‘एकीकृत समाजिक सुरक्षा ऐन बनाउँ भन्नुभएको छ। त्यसका लागि केही समय पनि लाग्छ। यसका लागि थप गृहकार्य पनि गर्नु पर्नेछ। आउने दिनमा गृह मन्त्रालयले, सरकारले यसका सन्दर्भमा गृहकार्य पनि गर्नेछ र सुरक्षाको छाताभित्र जति राज्यले, राज्यका अवयवहरुले सामाजिक उत्तरदायित्व बहन गरेको छ र हाम्रो मौलिक अधिकारले पनि त्यसलाई निर्दिष्ट गरेको छ। ती सबै कुराहरुलाई हामीले सम्पादन गर्नै पर्दछ। राज्यले दायित्व लिनै पर्दछ।’

गृहमन्त्री खाँणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए। उनले संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको उल्लेख गरे। उनले संसदीय समितिहरुमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई अवगत गराउने बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x