अध्यक्षको समान हैसियत बनाएर ओलीसँग मिलाए वामदेवले हात
काठमाडौं – एक वर्षअघिसम्म वामदेव गौतमका अध्यक्ष केपी ओली थिए । गौतम एमाले उपाध्यक्ष थिए, ओली अध्यक्ष ।
नेकपा एकता भंग भएपछि वामदेव गौतम ओलीसँग चिढिएका थिए । त्यसअघि नै वामदेव राष्ट्रिय सभा सदस्य मनोनीत भइसकेका थिए । एमाले र माओवादी केन्द्र अलग अलग भएको केही समयपछि नै माधवकुमार नेपालले एमाले विभाजन गरे ।
उनले एकीकृत समाजवादी गठन गरे । माधवले नयाँ पार्टी खोलेपछि वामदेवले एमाले त्यागे । र, स्वतन्त्र भएर बसे । त्यसबीचमा उनले नेकपा एकता अभियान भन्दै भेला गरे । तर, एक वर्षसम्म एकताको माखो मरेन ।
त्यसपछि अहिले उनले नेकपा राष्ट्रिय एकता अभियान पार्टी खोलेका छन् । जुन पार्टीको अध्यक्ष उनी आफैं छन् । नयाँ पार्टी खोलेर अध्यक्षको हैसियत बनाएपछि वामदेवले एमाले अध्यक्ष ओलीलाई भेट्न तारन्तार दबाब दिइरहे ।
त्यसपछि बल्ल बालकोटले वामदेवलाई भेटवार्ताका लागि अनुमति दियो । जसअनुसार बिहीबार वामदेव बालकोट पुगेर ओलीलाई भेटेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्दै वामदेवले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पुनः एकताका लागि पहल गर्न प्रस्ताव गरे ।
उनले कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको भन्दै एक हुन आह्वान गरे । बिहान ११ बजे बालकोट पुगेका गौतम र ओलीबीच एक घन्टा वार्ता भएको थियो । उनले कांग्रेसले पाँच वर्ष सरकार चलाउने भय देखाएर कम्युनिस्टबीच एकता गर्न दबाब दिएका छन् ।



