लागुऔषध ब्राउन सुगर र नगदसहित नेपालगञ्जका मोहम्मद रहिम अन्सारी पक्राउ
बाँके , ३१ भदौ २०८३ — नेपालगञ्जमा प्रहरीले ठूलो परिमाणको लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ बस्ने वर्ष ३४ को मोहम्मद रहिम अन्सारीलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज, इलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले अन्सारीको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको सुत्ने कोठाको दराजमा लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषध तथा अन्य सामानहरू लागुऔषध: ४० ग्राम ७६० मिलिग्राम ब्राउन सुगर , नगद: नेपाली रुपैयाँ ९९,०००/- र भारतीय रुपैयाँ १,४६,०००/- , मोबाइल तथा सिमकार्डहरू: विभिन्न कम्पनीका किप्याड मोबाइल ३ थान, NTC सिमकार्ड ३ थान, Ncell सिमकार्ड ९ थान र Ncell सिमकार्डका खोलहरू ५० थान , अन्य सामग्री: डिजिटल तराजु १ थान र भे ३ प ५३५१ नम्बरको पल्सर १५० सीसीको मोटरसाइकलको सवारी दर्ता किताब १ थान
पक्राउ परेका अन्सारीमाथि लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।



