१० कार्तिक २०८३, सोमबार

ज्याक माको कम्पनीलाई झन्डै एक अर्ब अमेरिकी डलर जरिवाना

एसीपी संवाददाता

२४ असार २०८०, आईतवार ०७:१९ मा प्रकाशित

एजेन्सी — चीनको वित्तीय नियमनकारी निकायहरूले चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना तिराउने भएका छन् ।

सन् २०२० यता चिनियाँ सरकारले आफ्नो देशका प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयासका रूपमा लिइएको यो कदमसँगै लगभग तीन वर्ष चलेको सो कम्पनीको पुनरूत्थान प्रक्रिया सकिएको बताइएको छ ।

हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपे गायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ । लगभग १७ हजार जना प्रत्यक्ष रूपमा कार्यरत यो कम्पनी सन् २०२० यता विभिन्नखाले समस्यामा पर्दै आएको छ । यसका प्रमुख लगानीकर्तामध्ये एक ज्याक माले चिनियाँ सरकारले नियमन थालेयता सक्रियता घटाउँदै चीनबाहिर नै बढी समय बिताउन थालेका छन् ।

नियमन प्रक्रियाकै क्रममा चीन सरकारले सन् २०२० को मध्यतिर सो कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला ३०० अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट ग्रुपको पछिल्लो कुल मूल्य घटेर झन्डै ८० अर्ब डलर हाराहारीमा आएको छ ।

चीन सरकारले एन्ट ग्रुपलाई लगाएको यो पहिलो जरिवाना होइन । यसअघि चीन सरकारले एन्ट ग्रुपकै एक कम्पनी अलिबाबा होल्डिङ्सलाई झन्डै ३ अर्ब डलरको जरिवानासमेत लगाइसकेको छ । यस्तै अन्य प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि पनि यसअघि नै जरिवानाको घोषणा गरिएको छ । सो क्रममा चीनको चर्चित फुड डेलिभरी कम्पनी मिटुआनले झन्डै साढे पाँच सय मिलियन अमेरिकी डलर र राइड कम्पनी दिदी ग्लोबलले एक अर्ब अमेरिकी डलरभन्दा बढी जरिवाना बुझाइसकेका छन् ।

नियमनका क्रममा ज्याक माले एन्ट ग्रुपमाथिको आफ्नो शेयर स्वामित्व पनि कम गर्दै लानेछन् । एन्टले तिरेको जरिवाना चीनको इतिहासमै कुनै पनि ईकमर्स कम्पनीलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना हो ।

चीनको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइनाले आफ्नो घोषणामा एन्टलाई वित्तीय सुशासन, ग्राहकको सुरक्षा, लेनदेन तथा व्यावसायिक समस्याको सम्बोधन, अवैध धनको कारोबार नियन्त्रणलगायतमा चुकेको हुँदा सो नियमनकारी कदम चाल्नुपरेको जनाएको छ । लामो समय गुपचुप र विदेश बसाइमा रहेका एन्टका प्रमुख लगानीकर्तामध्ये एक ज्याक मा केही महिनाअघि चीन फर्किएर सार्वजनिक कार्यक्रमहरूमा देखा पर्न थालेका थिए, यसै क्रममा एक साताअघि उनले नेपाललगायत दक्षिण एसियाका केही देशको भ्रमणसमेत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x