प्रतिशोध राजनीति’मा रमाउँदै एमाले
काठमाडाैं – संसद्मा प्रतिपक्षी दलको भूमिका क्रमशः नकारात्मक दिशातिर अघि बढेको छ।
सरकारलाई प्रभावकारी काम गर्न घचघच्याउन प्रतिपक्षी दलले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो त्यस्तो भइरहेको छैन। २०६२/०६३ सालको जनआन्दोलनबाट संसद् पुनस्र्थापित भएयता तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेका छन्। यी दलहरू प्रमुख प्रतिपक्षीको भूमिकामा पनि रहिसकेका छन्। तर प्रतिपक्षमा पुग्दाबित्तिकै यी दलले ‘प्रतिशोधको राजनीति’ गरेको देखिन्छ।
सत्ता पक्षले गर्न खोजेका काममा अवरोध खडा गर्ने भूमिकामा प्रतिपक्षी दल देखिँदै आएका छन्। यसको भित्री कारण भ्रष्टाचार ढाकछोप हुन सक्ने एकथरीको विश्लेषण छ। सरकारमा रहँदा भएगरेका अनियमिततामाथि छानबिन हुन नदिन पनि प्रतिपक्षमा पुग्दाबित्तिकै दलहरूले अनेक निहुँ झिकेर सदन अवरुद्ध गर्दै आएको विश्लेषकहरू बताउँछन्।
लोकतन्त्र वाद, विवाद र प्रतिवाद गर्न छुट भएको शासन व्यवस्था हो। संसदीय लोकतन्त्रलाई सबैभन्दा राम्रो शासन पद्धति मानिन्छ। यस प्रणालीमा जनताले आफ्ना इच्छा र गुनासो सम्बोधन गर्न आफ्ना प्रतिनिधि चुनेर सदनमा पठाउन पाउँछन्। संसदीय प्रणालीमा बहुमतको निर्णय स्वीकार गरिन्छ। निर्णयमा फरक दृष्टिकोण राख्ने अधिकार पनि हुन्छ। संसद्मा प्रतिनिधित्व गर्ने दल सत्ता र प्रतिपक्ष गरी दुई कित्तामा हुन्छन्। प्रतिपक्षमा बस्नु भनेको खाली ‘हलो अड्काएर गोरु चुट्न होइन’, एक सांसदले भने।
संसदीय लोकतन्त्रको सार बहुमतको शासन र अल्पमतको कदर हो। संसदीय लोकतन्त्र पार्टी प्रणालीमा आधारित हुन्छ। संसद्मा आलोचना र विरोध गर्न पाइन्छ तर विरोधका नाममा संसद्लाई बन्धक बनाउन नपाइने ती सांसदले बताए।
विपक्षी दलको प्रमुख भूमिका भनेको सरकारका कमीकमजोरी औैंल्याएर सच्याउन मद्दत गर्नु हो। विपक्षी दल कमजोर भए सरकार निरकुंश हुन्छ। त्यसैले प्रतिपक्षले महत्वपूर्ण, शालीन र रचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ। तर अहिले प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध पार्दै आएको छ। अन्य प्रतिपक्षी दल मौनजस्तै छन्। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।


