३१ भाद्र २०८३, बुधबार

क्यान्सरसँग जुध्दै कलाकार श्यामानन्द, उपचार सहयोगार्थ अपील

एसीपी संवाददाता

१४ आश्विन २०८०, आईतवार ०७:५७ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्जका श्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधिरहेका छन् । ६९ वर्षिय वरिष्ठ कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ । हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार ठकुरीले आफ्नो घरको दोस्रो तलाका चार कोठालाई वर्षौंदेखि संग्रहालय बनाएका छन् । कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उनले निःशुल्क अवलोकनको अवसर दिँदै आएका थिए । संग्रहालयमा सिंहद्वारा सिर्जित हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।

जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान-सम्मान, प्रमाण-पत्र सयौं छन् तर यतिबेला उनलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गरेर बुवाको जीवन बचाइदिन छोरा सागरले अपील गरेका छन् । श्यामानन्द सिंह, ग्लोवल आइएमई बैंक, खाता नम्बर ०२१०८०१००००२९४, इ-सेवा आइडी ९८४८०१८८२७ र खल्ती आइडी ९८५१०३९४२७ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा र कामना छ–’घरको संग्रहालयलाई राज्यले संरक्षण गरेर कहीँ स्थापित गरिदेओस् ।’  झण्डै सय सडक नाटक लेखन र अभिनय गरिसकेका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’ को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गरेका थिए । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरबाट प्रसारण भएको थियो ।

 

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x