१२ आश्विन २०८३, सोमबार

भारतले तिहारअघि नै नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

एसीपी संवाददाता

१८ कार्तिक २०८०, शनिबार २१:३१ मा प्रकाशित

काठमाडौं । नेपाललाई तिहारअघि नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारत सहमत भएको छ । बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो ।

भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रप्रसाद ठाकुरले भारतले दिनेमध्ये २० हजार मेट्रिकटन चिनी तिहार अगावै ल्याउने गरी खरिद प्रक्रिया थालेको बताए ।

‘हामीले कही दिन अघि गरेको प्रस्तावमा भारत चिनी उपलब्ध गराउन सहमत भएको छ,’ सहसचिव ठाकुरले अनलाइनखबरसँग भने, ‘तिहार अघि नै २० हजार मेट्रिक टन चिनी उपलब्ध गराउने गरी खरिदको प्रक्रिया सुरु भएको छ ।’

मन्त्रालयका अनुसार भारतसँग खरिद गर्न लागिएको २५ हजार मेट्रिकटन चिनी मध्ये २० हजार मेट्रिकटन चिनी भन्सार छुटको हुनेछ । यो चिनी अबको एक हप्ताभित्रै ल्याइने ठाकुरले बताए ।
यस्तै, बाँकी रहेको ५ हजार मेट्रिकटन चिनी भने तिहारपछि भन्सार छुटविना नै ल्याइने मन्त्रालयले जनाएको छ ।

सहुलियतको २० हजार मेट्रिकटन चिनीको खरिद प्रक्रियाको लागि सरकारले शुक्रबार नै परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ ।

भारतले नेपाललाई सरकारी कम्पनीबाटै चिनी बिक्री गर्ने र सो चिनी नेपालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

साल्ट र खाद्यलाई १०-१० हजार चिनी

मन्त्रालयकाअनुसार सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी ल्याउन अनुमति दिएको छ । दुवै कम्पनीले तिहार अघिनै १० –१० हजार मेट्रिकटन चिनी खरिद गरेर ल्याएर बिक्री गर्ने मन्त्रालयले जनाएको छ ।

द्रुत प्रक्रियाबाट चिनी खरिदका लागि साल्ट ट्रेडिङको संयन्त्रले काम गरीरहेको र अहिले चिनीको गुणस्तर, मूल्यमा अन्तिम छलफलमा भइरहेको मन्त्रालयको भनाइ छ ।

‘सो चिनी भारतीय बजार मूल्यमा खरिद गर्ने र नेपालमा भन्सार छुट हुँदा सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध हुन्छ,’ ठाकुरले भने, ‘सबै उपभोक्ता र खुद्रा व्यापारीलाई उपलब्ध हुनेगरी चिनी वितरण गर्न सबै संयन्त्र लागेको छ । ’

मन्त्रालयलले चिनीको सहजताका लागि सरकारले सबै उपाय गरिरहेको भन्दै उपभोक्तालाई उच्च मूल्य र ठगीमा नपर्न आग्रह गरेको छ ।

शुक्रबार मात्रै नेपाली चिनी उद्योगहरुबाट ३ हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङले खरिद गरेको र त्यो चिनी बिक्री सुरु भएको मन्त्रालयले जनाएको छ ।

साल्टले उद्योगबाट खरिद गरेको उक्त चिनी पनि बजारमा पठाउन सुरु भइसकेको मन्त्रालयले जनाएको छ । बजारमा चिनीको कृत्रिम भण्डारण हुनसक्नेतर्फ सचेत भएको र सुरक्षा संयन्त्रको परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x