आज गाई तिहार
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई र गोरुको पूजा गरिँदैछ ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको हो ।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराज बताउँछन् ।
आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गोवर्द्धन पहाडको प्रतिमा बनाएर गोवर्द्धन पूजासमेत गरिन्छ ।


