नेपाल सरकारले सामाजिक संजाल ‘टिकटकको समाचार
नेपाल सरकारले सामाजिक संजाल ‘टिकटक’ लाई नेपालमा प्रसारण हुनबाट रोक्ने निर्णय गरेको समाचार आएको छ।
एक समय थियो, म संचार मंत्री थिेए। विदेशबाट प्रसारण हुने “फेसन टिभी” च्यानल रोक्न सहकर्मी मंत्रीहरूबाट समेत निकै ठुलो दबाव आएको थियो। नेपाली समाजमा सदाचारको रक्षाका लागि यो आवश्यक रहेको तर्क दिईएको थियो। अर्को प्रसंगमा चीनको ‘सिसिटिभी’ र पाकिस्तानको ‘पिटिभी’ को प्रसारण नेपालका केबुल टिभीका सेवा प्रदायकबाट हुन न दिन पनि उत्तिकै ठुलो दबाव अनुभव गरेको याद आउँछ।
‘एपी’ एशोसिएट प्रेसले भारतको कश्मिरमा भारतीय सेनाद्वारा मारिएको बिद्रोहीहरूका बारेको समाचारमा ‘किल्ड’ शब्दको प्रयोग गरेको थियो। गोरखापत्रले ‘भारतीय सेनाद्वारा हत्या’ भनी समाचार छापिएको थियो। कुरो यहाँसम्म पुग्यो कि नेपालमा रहेका एपीका समाचारदाता विनय गुरूवाचार्यको प्रेस पास खारेज गर्ने र एपीको सब्सक्रिप्सन रासस, राष्ट्रिय समाचार समितिले रद्द गर्ने समेत कुरा आयो। कश्मिरको समाचार र नेपालका एक भद्र, अनुभवी एवं सम्मानित पत्रकार विनय गुरूवाचार्यका बीच कुनै सम्बन्ध थिएन र पनि कुरो आयो।
तेस बेला भारत कै हितचिन्तकहरूलाई सम्झाँउन कठिन भएको थियो। जवाहरलाल नेहरूले भनेका…”…सरकारले जान्नुपर्दछ कि स्वतन्त्र समाजमा खुला विचारहरूलाई कहिले पनि क्रूर कानूनद्वारा जाँच्न सकिँदैन। जति धेरै जुलुम गरिन्छ, विचारहरूको फैलावट त्यति नै ठूलो हुन्छ।” यस कुरोलाई म बताउन पनि सकिरहेको थिईन् तेस बेला।
मंत्री, प्रधानमंत्रीहरूलाई धेरै दबावहरू आउने गर्दछ। कहिले समाजमा सदाचार बचाउने नाममा, कहिले मित्र राष्ट्रहरूसंगको प्रगाढ सम्बन्ध बचाउने नाममा। यसका बावजूद पनि सरकारले बिचारहरूको प्रवाहको रक्षा त गर्नै पर्दछ।
अहिलेको सरकारले टिकटक किन बन्द गर्ने बिचार बनायो होला? मलाई त ठिक लागेको छैन। कुरो त के हो भने संचारको क्षेत्रमा चाहे जुन सुकै सरकार होस्, वा जुन सुकै शासन व्यवस्थामा नै किन न होस्- मिडियालाई व्यवस्थित गर्नु पर्ने कर्ण प्रिय कुरा जसले गरे पनि बास्तवमा त्यो भनेकै मिडियालाई नियन्त्रण गर्नका लागि सरकारलाई हौस्याएकै ठहर्छ।
यद्यपि, मलाई मन नपरेर के भो त ? आज धेरैलाई मन परेकै होला।


