२६ श्रावण २०८३, मंगलवार

माधव नेपाल–झलनाथ खनाल वैचारिक टकराबः जबजले फुटाउन सक्छ एकीकृत समाजवादी

एसीपी संवाददाता

२२ माघ २०८०, सोमबार ११:४८ मा प्रकाशित

काठमाडौं– सत्ताधारी नेकपा एकीकृत समाजवादी पार्टीका दुई शीर्ष नेताबीच वैचारिक टकराब अहिले पनि कायम रहेको छ। अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको वैचारिक मतभेद कायम रहेको सतहसम्म देखिन थालेको छ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विकल्पमा जनताको जनवादको विचारधारा अघि सारेका खनाललाई टकराब दिँदै अध्यक्ष नेपालले जबज छाड्दा कम्युनिस्ट पार्टी विभाजन हुने तर्क अघि सारेका छन्।

महासचिव डा. बेदुराम भुसालको पुस्तक विमोचनका क्रममा अध्यक्ष नेपालको यस्तो विचारले एकीकृत समाजवादीभित्र सैद्धान्तिक मतभेद सतहसम्म नै रहेको स्पष्ट हुन्छ।

यसअघि नै खनालले पनि विभिन्न बैठकमा फरक प्रस्तावमार्फत कम्युनिस्ट एकीकरणको खाकाबारे टिप्पणी गरेका थिए। यहाँसम्मकी खनालले अहिलेको गठबन्धन सरकारमा रहन नहुनेसहित कम्युनिस्ट ध्रुवीकरणकै विषयलाई अगाडि सार्दा अध्यक्ष नेपाल भने अहिले सत्ताबाट ओर्लिन तयार छैनन्।

‘वैचारिक र सैद्धान्तिक लाइनमा मतभेद रहेको छ। यो मतभेद भनेको पार्टीको व्यवाहारिक जीवनमा पनि आइलाग्दा विभाजन हुने खतरा हुन्छ’, एक नेता भन्छन्,‘यस्तो अवस्थाबाट एउटा खास कार्यदिशा बनाएर जानुपर्ने अवस्था रहेको छ।’

त्यसो त सांगठनिक रुपमा नै एकीकृत समाजवादी कमजोर बनिरहेको टिप्पणी विभिन्न तहका बैठकमा नभएका होइनन्। एमाले विभाजन गरेको अवस्थाभन्दा अहिले संगठन निक्कै कमजोर भएको रिपोर्टिङ पनि भएका थिए।

धेरै नेता कार्यकर्ता एमालेतिर फर्किएको भन्दै खनालले त पार्टी एकीकरणको पुनर्विचारको मत पनि अघि सारेका थिए। उनी एमालेको चियापान कार्यक्रममा सहभागी भएपछि नेपालसँगको दूरी बढेको भन्ने टिप्पणी पनि भएको थियो। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x