५ आश्विन २०८३, सोमबार

नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा

एसीपी संवाददाता

१५ मंसिर २०८१, शनिबार १९:४९ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उनले सो जानकारी दिएकी हुन् । साथै उनले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताइएकी छिन् ।

उनले भनिन्, ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ । यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।’

एक प्रश्नको जवाफमा मन्त्री डा राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गरिन् ।

उनले भनिन्, ‘यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ।’

मन्त्री राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको भन्दै यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताइन् ।

मन्त्री राणाले यस भ्रमणका क्रममा हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको द्विपक्षीय भेटवार्ता सौहार्दपूर्ण रहेको पनि जानकारी दिइन् । त्यस वार्तामा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको उनको भनाई थियो ।

समकक्षी वाङसँग हिजो हार्दिक र सौहार्दपूर्ण वातावरणमा वार्ता भएको र दुबै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको उनले बताइन् ।

सो वार्तामा आफूले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्वि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको र चिनियाँ विदेशमन्त्री वाङ यीले पनि उक्त धारणाप्रति चीन सरकार सकारात्मक रहेको जानकारी दिनुभएको मन्त्री डा राणाले बताइन् ।

सो वार्ताका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारहरूको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा पनि कुरा भएको उनले बताइन्।

वार्तामा दुई देशबीचको विद्यमान सुमधुर राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षबीच व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्क लगायतका विषयमा छलफल भएको पनि मन्त्री डा राणाले बताइन् ।

साथै मन्त्री राणाले उक्त द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षबाट भएका उच्चस्तरीय भ्रमणहरुमा गरिएका सम्झौता तथा समझ्दारीहरुलाई पनि तदारुकताका साथ कार्यान्वयनमा लैजाने विषयमा सहमति भएको जानकारी दिइन् । उनले यस भ्रमणले आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलकबीच रही आएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको बताइन् ।

मन्त्री डा राणा चीनको सिचुआन प्रान्तस्थित छन्दुबाट आज स्वदेश फर्किएकी हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीन गएकी उनले हिजो अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x