१७ जेष्ठ २०८३, आईतवार

डा. अमरेश सिंहको आरोप : ‘नेपाल टेलिकमको संवेदनशील प्रणाली हुवावेलाई सुम्पनु राष्ट्रघाती कदम’

एसीपी संवाददाता

१५ भाद्र २०८२, आईतवार १६:४१ मा प्रकाशित

काठमाडौं । सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाल टेलिकमको कोर प्रणाली चिनियाँ कम्पनी हुवावेलाई जिम्मा दिन लागिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यसलाई देशको सम्प्रभुता र राष्ट्रिय सुरक्षामाथिको गम्भीर खतरा भन्दै राष्ट्रघाती कदमको संज्ञा दिएका छन्।

फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै सिंहले टेलिकमजस्तो संवेदनशील संस्थाको कोर सिस्टम र बिलिङ प्रणाली एउटै भेन्डर (सेवा प्रदायक) लाई सुम्पनु आपत्तिजनक भएको बताए। उनले लेखेका छन्, “कुनै पनि टेलिकम अपरेटरले आफ्नो कोर सिष्टम र बिलिङ् सिष्टम एउटै सेवा प्रदायकलाई दिन्छ, त्यसपछि सो भेन्डर सर्वेसर्वा हुन्छ र उसले गरेको कामलाई कसैले निगरानी गर्न सक्दैन।”

उनले चीनको हुवावेलाई टेलिकमको प्रणाली सुम्पन लागिएको सन्दर्भ उठाउँदै यस्तो संवेदनशील क्षेत्रमा एकल कम्पनीको नियन्त्रणले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने दाबी गरे। सिंहले भनेका छन्, “अन्तर्राष्ट्रिय मान्यता अनुसार टेलिकमजस्तो सेवाको सम्पूर्ण अधिकार कुनै एउटै कम्पनीलाई दिँदा अप्ठेरो परेको अवस्थामा धोका हुनसक्छ।”

यससँगै उनले एमाले र कांग्रेस नेतृत्वमाथि समेत प्रश्न उठाएका छन्। केही समय अघि सिंहले बजेट विनियोजनसम्बन्धी प्रस्ताव गर्दा एमाले सांसदहरुले राष्ट्रघातीको आरोप लगाएर अभिव्यक्तिको विरोध गरेको स्मरण गर्दै अहिलेको टेलिकमको निर्णयप्रति ती सांसदहरू मौन रहेकोप्रति आलोचना गरे। “म एमालेका ती मित्रहरूलाई सोध्न चाहन्छु, के यो राष्ट्रवादी कदम हो?” भन्दै उनले प्रश्न गरेका छन्।

सिंहले नेपाली कांग्रेस नेतृत्व पनि मौन रहेको भन्दै सभापति शेरबहादुर देउवामाथि परोक्ष प्रहार गरेका छन्। “सभापति त त्यस्कै लागि पार्टी नेतृत्व गरिरहेका छन्, तर मिडिया महामन्त्री पनि चुप छन्,” भन्दै उनले कांग्रेस–एमाले मिलेर देशको सम्पूर्ण सम्पत्ति सखाप पार्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाएका छन्।

यस विषयमा नेपाल टेलिकम वा सम्बन्धित निकायबाट आधिकारिक धारणा आउन बाँकी छ। तर डा. अमरेश सिंहको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहसको सुरुवात गराएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x