७ तले घरका धनी चाम्लिङ भन्छन् ‘नक्सा पास गरेरै बनाएको हाे’
अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोरमा निर्माण गरिएको ७ तले घरमा डोजर चलाइएपछि घरधनी इन्द्र चाम्लिङले नक्सा पास गरेरै घर बनाएको र आफूले नियमित कर तथा राजस्व तिर्दै आएको दाबी गरेका छन्।
सरकारले अतिक्रमित संरचना हटाउने प्रक्रिया सुरु गरेसँगै उक्त भवनमा पनि डोजर चलेको हो। तर घरधनी चाम्लिङले भन चाबेलकी कान्छिनानी अधिकारीसँग आफूहरुले जग्गा किनेको र त्यसपछि नक्सा पास गरेरै घर बनाएको दाबी गरेका हुन्। एक रोपनी तीन आना जग्गामा बनेको ७ तले घरको साढे ६ तल्लाको नक्सा पास भएको र एक तल्लाको पास नभएको उनले स्वीकार गरे।
करिब ५ वर्षअघि प्रक्रिया सबै पूरा गरेर घर निर्माण सम्पन्न गरेको उनको भनाइ छ। पहिले र अहिले खोला भएको ठाउँमा नै परिवर्तन भएको भन्दै त्यसको पनि खोजी गर्न चाम्लिङको माग छ। ‘खोला नै व्यक्तिको जग्गामा बगिरहेको छ, खोला पहिले कहाँ थियो र अहिले कहाँ छ त्यो खोजी गर्नुपर्छ,’ उनले भने।
महानगरले खोला किनारको मापदण्ड मिचेको र स्वीकृत नक्सा भन्दा बढी संरचना बनाएको भन्दै माथिल्लो तलाहरू र नक्सा विपरीतका भागहरू भत्काएको हो। घरधनी चाम्लिङले अदालतको आदेश र आफ्नो प्रमाणका बारेमा कुरा गरे पनि महानगरले भने कानुनी प्रक्रिया पुर्याएरै अवैध संरचना हटाइएको जनाएको छ। नागरिकन्युज



