नेपालगञ्ज–१७ मा वडा अध्यक्षका लागि सुशील बर्माको उम्मेदवारी घोषणा, ‘पैसाभन्दा चरित्र, सेवा र विश्वासको जित हुनेछ’ ‘मिसन २०८४’ अन्तर्गत समृद्ध, स्वच्छ र समावेशी वडा निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक
दिनेश ठाकुर नेपालगञ्ज, असोज २६ — आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ (परसपुर) मा वडा अध्यक्ष पदका लागि सुशील बर्माले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। ‘इमानदारीको साथ, सेवाको प्रतिबद्धता, समृद्ध परसपुरको हाम्रो चाहना’ भन्ने मूल नारासहित उहाँले ‘मिसन २०८४ : समृद्ध, स्वच्छ र समावेशी वडा–१७’ निर्माणको अभियान अघि सार्नुभएको हो।
उम्मेदवारी घोषणा गर्दै बर्माले राजनीतिमा पैसाभन्दा चरित्र, इमानदारी, जनसेवा र जनताको विश्वास महत्त्वपूर्ण हुने बताउनुभएको छ। आफू सामान्य परिवारबाट आएको र गरिबी, दुःख तथा अभावलाई नजिकबाट अनुभव गरेको उल्लेख गर्दै उहाँले जनताको सेवाका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।
“मेरो आँखामा ठूलो सपना छ, तर खल्ती खाली छ। मेरो घरमा धनको थुप्रो छैन, तर मनमा जनताको माया कमाउने अठोट छ,” बर्माले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ।
उहाँले चुनाव जित्नका लागि पैसाको प्रभाव बढ्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मतदाताको मन जित्ने आधार पैसा नभई इमानदारी, सेवाभाव र विश्वास हुनुपर्ने धारणा राख्नुभएको छ। जनताको दुःख–सुखमा साथ दिँदै वडाको विकास र नागरिकको हितमा काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।
“पैसा नभएकै कारण इमानदार मानिस राजनीतिबाट पछि हट्नुपर्ने अवस्था आउनु हुँदैन। आज हामी पछि हट्यौँ भने भोलिका पुस्ताले इमानदार भएर राजनीति गर्न किन सकिएन भनेर प्रश्न गर्नेछन्,” बर्माले भन्नुभएको छ। उहाँले स्वच्छ छवि र सेवाभावसहितको नेतृत्वलाई अवसर दिन परसपुरवासीसँग आग्रहसमेत गर्नुभएको छ।
विकासका ६ मुख्य प्रतिबद्धता सार्वजनिक
वडा नम्बर १७ लाई व्यवस्थित, समृद्ध र नागरिकमैत्री बनाउने लक्ष्यसहित बर्माले आफ्नो प्रतिबद्धता पत्रमा छ वटा प्रमुख क्षेत्रलाई प्राथमिकता दिनुभएको छ।
उहाँका प्रमुख प्रतिबद्धतामा गुणस्तरीय सडक तथा पूर्वाधार विकास, स्वच्छ खानेपानी र सरसफाइको व्यवस्था, शिक्षा तथा युवा सशक्तीकरण र सीप विकास, सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण र प्रभावकारी फोहोर व्यवस्थापन रहेका छन्।
त्यसैगरी, वडाको प्रशासनलाई पारदर्शी, समावेशी र उत्तरदायी बनाउँदै नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
बर्माले विकासका योजना कागजमा सीमित नराखी नागरिकको आवश्यकता र जनसहभागिताका आधारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ। वडाको विकासमा युवा, महिला, ज्येष्ठ नागरिक तथा सबै समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको धारणा छ।
‘तपाईंको सेवा, मेरो प्रतिबद्धता’
‘तपाईंको सेवा, मेरो प्रतिबद्धता’ भन्ने नारासहित चुनावी अभियान अघि बढाउनुभएका बर्माले परसपुरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा युवा साथीहरूलाई आफ्नो अभियानमा साथ दिन आग्रह गर्नुभएको छ।
उहाँले आर्थिक प्रभावभन्दा इमानदार नेतृत्व, जनताको विश्वास र विकासप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिन मतदातासमक्ष अपिल गर्नुभएको छ।
“मलाई एकपटक अवसर दिनुहोस्, म तपाईंहरूको विश्वासलाई सेवामार्फत सम्मान गर्नेछु,” भन्ने सन्देशसहित बर्माले समृद्ध, स्वच्छ र समावेशी वडा निर्माणका लागि आफूलाई समर्थन गर्न अनुरोध गर्नुभएको छ।
आगामी स्थानीय निर्वाचनमा वडा नम्बर १७ मा उम्मेदवारी घोषणा गर्ने तयारी र आकांक्षा सार्वजनिक भइरहेका बेला बर्माको घोषणाले वडाको चुनावी गतिविधि र स्थानीय राजनीतिक प्रतिस्पर्धालाई थप चर्चामा ल्याएको छ।


