राजनीति र समाजसेवालाई सँगसँगै अगाडि बढाउँदै प्रदेश सांसद अम्बिका काफ्ले जनताको हकअधिकार, महिला र युवा सशक्तीकरण र लुम्बिनी प्रदेशको समृद्धिका लागि संसद् र समाज दुवै क्षेत्रमा सक्रिय
दिनेश ठाकुर नेपालगन्ज ,कात्तिक १९ — राजनीतिलाई सत्ता प्राप्तिको माध्यम मात्र नभई समाज रूपान्तरण र जनताको सेवाको सशक्त माध्यम बनाउनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहनुभएको छ, जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले।
लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी काफ्लेले जनताको सुखदुःखमा साथ दिँदै प्रदेशको विकास, सुशासन र नागरिकका हकअधिकारका सवालमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ।राजनीतिक जिम्मेवारीसँगै सामाजिक सेवामा समेत उत्तिकै सक्रिय काफ्लेले संसद् र जनस्तर दुवै क्षेत्रबाट नागरिकका समस्या उठाउने प्रयास गर्दै आउनुभएको छ।
विशेषगरी महिला, बालबालिका, मधेशी,मजदुर ,विपन्न तथा सीमान्तकृत समुदायको अधिकार र अवसर सुनिश्चित गर्न उहाँले जोड दिँदै आउनुभएको छ।
राजनीतिक निष्ठा र जनमुखी नेतृत्व
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा पार्टीको नीति निर्माण र संगठनात्मक गतिविधिमा योगदान पुर्याउँदै आउनुभएकी काफ्ले युवा,महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित हुनुहुन्छ।
लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा उहाँले प्रदेशका समसामयिक समस्या, जनजीविकाका सवाल, कानुन निर्माण र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ। जनताका वास्तविक समस्या नीति निर्माणको तहसम्म पुर्याउनु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी भएको उहाँको धारणा छ।समाजसेवामा पनि उत्तिकै सक्रिय
सांसद काफ्लेको परिचय राजनीतिक क्षेत्रमा मात्र सीमित छैन। उहाँ लामो समयदेखि सामाजिक सेवाका विभिन्न गतिविधिमा समेत संलग्न रहँदै आउनुभएको छ।
विशेषगरी ग्रामीण क्षेत्रका युवा/महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवामा पहुँच विस्तार र गरिब तथा विपन्न परिवारलाई सहयोग पुर्याउने कार्यमा उहाँको सक्रियता रहँदै आएको छ।
उहाँका अनुसार समाजका पछाडि परेका र अवसरबाट वञ्चित नागरिकको जीवनस्तरमा सुधार ल्याउन सके मात्र राजनीतिक परिवर्तनको वास्तविक अर्थ हुन्छ।
काफ्ले भन्नुहुन्छ, “जबसम्म समाजका तल्लो तहका नागरिकको जीवनस्तरमा सुधार आउँदैन, तबसम्म राजनीतिक परिवर्तनको कुनै अर्थ रहँदैन। मेरा लागि राजनीति पनि समाजसेवाकै एउटा वृहत् रूप हो। पदमा रहँदा वा नरहँदा जनताको सेवा गर्नु नै मेरो जीवनको मुख्य लक्ष्य हो।”कृषि, पर्यटन र रोजगारीमा विशेष जोड
लुम्बिनी प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि कृषि, पर्यटन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने सांसद काफ्लेको धारणा छ।
प्रदेशभित्रै युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने, लैगिंक हिंसा विरूद्दको आवाज,महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा स्थानीय उत्पादन र सम्भावनाको उपयोग गर्ने खालका कार्यक्रम सरकारले ल्याउनुपर्नेमा उहाँले जोड दिँदै आउनुभएको छ।
विशेषगरी युवा/महिलाको सीप, क्षमता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत आर्थिक रूपमा सक्षम बनाउनुपर्ने उहाँको मान्यता छ। युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नु राज्यको प्राथमिकता हुनुपर्ने उहाँ बताउनुहुन्छ।जनताको आवाजलाई प्राथमिकता दिने प्रतिबद्धता
राजनीतिमा देखिँदै गएको विकृति, विसंगति र जनताप्रतिको उत्तरदायित्व कमजोर हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै काफ्ले राजनीति जनताको सेवासँग जोडिनुपर्नेमा जोड दिनुहुन्छ।
पद र प्रतिष्ठाभन्दा जनताको विश्वास ठूलो भएको बताउँदै उहाँ आगामी दिनमा पनि जनजीविका, सामाजिक न्याय, समानता र समावेशी विकासका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ।
राजनीतिक जिम्मेवारी र सामाजिक सेवाबीच सन्तुलन कायम गर्दै अघि बढिरहनुभएकी अम्बिका काफ्लेको सक्रियताले जनप्रतिनिधिहरू जनताको दैनिक जीवनसँग जोडिनुपर्ने सन्देश दिएको छ। जनताको आवश्यकता र अपेक्षालाई नीति निर्माणसँग जोड्न सक्नु नै उहाँको राजनीतिक यात्राको महत्वपूर्ण उद्देश्य देखिन्छ।


