भेरी अस्पतालको संस्थागत समीक्षा समिति (आइआरसी) संयोजकमा डा. तीर्थेन्द्र खड्का नियुक्त
दिनेश ठाकुर नेपालगन्ज, २० कात्तिक — भेरी अस्पताल नेपालगन्जको संस्थागत समीक्षा समिति (Institutional Review Committee–IRC) को संयोजकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. तीर्थेन्द्र खड्का नियुक्त हुनुभएको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले २०८३ कात्तिक २० गते जारी गर्नुभएको नियुक्ति सम्बन्धी पत्रअनुसार डा. खड्कालाई सोही मितिदेखि लागू हुने गरी समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।अस्पतालमा सञ्चालन हुने अनुसन्धानात्मक गतिविधिहरूलाई व्यवस्थित, वैज्ञानिक, पारदर्शी तथा नैतिक मापदण्डअनुरूप अघि बढाउने उद्देश्यले गठित संस्थागत समीक्षा समितिको नेतृत्व अब डा. खड्काले गर्नुहुनेछ।
नवनियुक्त संयोजक डा. खड्काले समितिको प्रभावकारी सञ्चालन, समन्वय तथा व्यवस्थापन गर्नुका साथै अनुसन्धान प्रस्तावहरूको समीक्षा तथा मूल्याङ्कन, समितिका बैठक सञ्चालन, अनुसन्धानका नैतिक पक्षको अनुगमन र आवश्यक अभिलेख व्यवस्थापनलगायतका जिम्मेवारी निर्वाह गर्नुहुनेछ।
अस्पतालमा हुने अनुसन्धानात्मक कार्यहरूलाई थप गुणस्तरीय, विश्वसनीय र अन्तर्राष्ट्रिय नैतिक मापदण्डअनुरूप सञ्चालन गर्न संस्थागत समीक्षा समितिको भूमिका महत्त्वपूर्ण रहने गर्दछ।डा. खड्काको नियुक्तिले अस्पतालमा अनुसन्धान सम्बन्धी गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अस्पताल प्रशासनले अपेक्षा गरेको छ।
नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका डा. खड्कालाई अस्पताल परिवार तथा सरोकारवालाहरूले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


