२१ कार्तिक २०८३, शुक्रबार

गणपति सामुदायिक वनमा निष्पक्ष निर्वाचनको माग, उपभोक्ताहरूले उठाए आवाज

एसीपी संवाददाता

२२ कार्तिक २०८३, शनिबार ०१:३५ मा प्रकाशित

अरबिन्द कुमार यादव/बाँके — बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित गणपति सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरूले समितिको नेतृत्व चयनका लागि निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचन गराउन माग गरेका छन्।

उपभोक्ताहरूले सामुदायिक वन कुनै व्यक्ति वा सीमित समूहको निजी सम्पत्ति नभई सम्पूर्ण उपभोक्ताको साझा संस्था भएकाले नेतृत्व चयनमा सबैको समान सहभागिता हुनुपर्ने बताएका छन्।

निर्वाचन प्रक्रियालाई लिएर उठेका गुनासा सम्बोधन गर्दै निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन उनीहरूले वन तथा वातावरण मन्त्रालय, वन डिभिजन कार्यालय बाँके र सब–डिभिजन वन कार्यालय नरैनापुरको ध्यानाकर्षण गराएका छन्।

उपभोक्ताहरूले निर्वाचन प्रक्रियामा देखिएका विवाद तथा गुनासाको निष्पक्ष छानबिन गर्न, निर्वाचनको स्पष्ट कार्यतालिका सार्वजनिक गर्न र कुनै पनि दबाब तथा प्रभावबिना निर्वाचन गराउन माग गरेका छन्।

उनीहरूको स्पष्ट माग छ—समितिमा व्यक्ति विशेषको मनोमानी होइन, उपभोक्ताको अधिकार र निर्णय चल्नुपर्छ।

‘गणपति सामुदायिक वन कसैको बाउको बपौती होइन, यो सम्पूर्ण उपभोक्ताको साझा सम्पत्ति हो। नेतृत्व चयन गर्ने अधिकार पनि उपभोक्ताकै हुनुपर्छ,’ उपभोक्ताहरूको माग छ।

सम्बन्धित निकायले उपभोक्ताहरूको मागलाई कसरी सम्बोधन गर्छन् भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x