नेपालगन्ज–१४ मा राष्ट्रिय जनमत पार्टीको अन्तरक्रिया सम्पन्न, १५ सदस्यीय टोल समिति गठन
दिनेश ठाकुर नेपालगन्ज , कात्तिक २९ गते — बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा राष्ट्रिय जनमत पार्टी (बुलडोजर बाबाको टिम) द्वारा आयोजित छलफल, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीको संगठन विस्तार, स्थानीय समस्या तथा आगामी राजनीतिक रणनीतिका विषयमा विस्तृत छलफल गरिएको छ।
वडा इन्चार्ज (सभापति) रमजान अलि राईको नेतृत्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका संरक्षक इरफान, केन्द्रीय सभापति रियाज अहमद शेष, महासचिव राजा सिंहलगायत पार्टीका विभिन्न तहका पदाधिकारी तथा स्थानीय नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीयस्तरमा देखिएका समस्या, जनताका आवश्यकता, पार्टीको नीति तथा कार्यक्रम र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो।अन्तरक्रिया तथा छलफलपछि पार्टी संगठनलाई टोलस्तरसम्म विस्तार र सुदृढ बनाउने उद्देश्यले १५ सदस्यीय टोल समिति गठन गरिएको आयोजकले जनाएको छ। साथै, कार्यक्रममा विभिन्न व्यक्तिहरूले राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्।
पार्टीका नेताहरूले संगठन विस्तारसँगै जनताका समस्या पहिचान गरी समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीको विचार, नीति र उद्देश्यलाई जनस्तरसम्म पुर्याउँदै जनताको विश्वास जित्ने गरी अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए।
पार्टीले नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै संगठन निर्माण तथा विस्तारमा योगदान पुर्याउने सम्पूर्ण आयोजक, नेता तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रमले नेपालगन्ज–१४ मा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तार र स्थानीयस्तरमा राजनीतिक गतिविधि बढाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


