बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय हेमराज खत्री मृत अवस्थामा फेला
माघ १४ गतेबाट सम्पर्कविहीन भएका खत्रीको शव शनिबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टटुवाको जंगलमा फेला परेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले खत्री मृत अवस्थामा भेटिएको पुष्टि गरे । स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला शनिबार बिहान बेवारिसे मोटरसाइकल देखेपछि स्थानीय प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर मोटरसाइकल स्थल वरिपरि खोजेपछि खत्रीको शव नजिकै फेला परेको प्रहरी नायब उपरीक्षक खनालले बताए । घटनास्थलमा तालिमप्राप्त कुकुरको प्रयोग समेत गरिएको छ । मृतक खत्रीकी पत्नी कल्पना ओलीले केही दिनअघि मात्र नेपालगन्जमा पत्रकार सम्मेलन गरेर आफ्ना पति हेमराजको परस्त्रीसँग सम्बन्ध रहेको र सोही कारणले पटक–पटक घरमा विवाद उत्पन्न भएको बताएकी थिइन् । आफ्नो पतिलाई प्रेमिकाले नै बन्धक बनाएर राखेको हुन सक्ने उनको आशंका थियो । परिवार र स्थानीयको बयानको आधारमा एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । शव भेटिएको नजिकै एक पिउने पानीको बोत्तल र चाउचाउको खोस्टो समेत फेला परेको उनले जानकारी दिए । मोटरसाइकल, पानीको बोत्तल, चाउचाउको खोस्टो र शव फरक फरक स्थानमा भेटिएकाले प्रहरीले समेत कुनै नसालु पदार्थ मिसाएको चाउचाउमा खुवाएको हत्या गरिएको हुनसक्ने आशंका गरेको छ ।


