४ आश्विन २०८३, आईतवार

पोर्न स्टार मिया खलिफाको टिकटकमा प्रतिबन्ध

एसीपी संवाददाता

२० जेष्ठ २०७८, बिहीबार ०१:३० मा प्रकाशित

एजेन्सी । पाकिस्तानमा पूर्व पोर्न स्टार मिया खलिफाको टिकटक अकाउन्टमाथि पुन: प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पिटिए) ले व्यक्तिगत रुपमा खालिफाको टिकटक अकाउन्ट माथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि समेत खालिफाको टिकटक अकाउन्टमाथि प्रतिबन्ध लगाइएको थियो । ‘अनैतिक र असभ्य’ भिडियो पोष्ट गरेको भन्दै लगाइएको उक्त प्रतिबन्ध अप्रिलमा फुकुवा गरिएको थियो । तर फुकुवा भएको केही समयपछि पुन: उनको अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।
खलिफाले आफ्नो ट्विटर अकाउन्ट बन्द भएपछि आक्रोशपूर्ण प्रतिक्रिया दिएकी छन् । फासीवादलाई परास्त गर्न चाहने पाकिस्तानी फ्यानका लागि अबदेखि ट्विटरमा आफ्नो टिकटक भिडियो पोष्ट गर्ने समेत उनको भनाइ छ ।

‘मेरो टिकटक अकाउन्टमाथि प्रतिबन्ध लगाएको पाकिस्तानलाई भन्न चाहन्छु ‘, खालिफाले ट्विटरमा लेखेकी छन्, ‘फासीवादलाई निस्तेज पार्न चाहने पाकिस्तानी फ्यानका लागि अबदेखि ट्विटरमा मेरा सबै टिकटक भिडियो पोष्ट गर्ने छु ।’

पिटिएले कुनै औपचारिक सूचनाबिनै खलिफाको टिकटक अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ र यसको कारण प्रस्ट भइसकेको छैन ।

एक फ्यानले उनको टिकटकमाथि प्रतिबन्ध लगाएको जानकारी गराएपछि खलिफा आश्चर्यमा परेकी थिइन् । टिकटकमा उनका २ करोड २२ लाखभन्दा बढी फलोअर छन् । उनले ट्विटरमा समेत विभिन्न मुद्दाबारे आफ्नो कुरा प्रस्ट रुपमा राख्दै आएकी छन् ।

यही महिनाको सुरुमा जेरुसलेमस्थित अल अक्सा मस्जिदमा इजरायली सुरक्षाकर्मीले आक्रमण गरेपछि खलिफाले प्यालेस्टिनीको पक्षमा कैयौं ट्विट गरेकी थिइन् । ‘मैले जति जोडसँग लेबनानका लागि प्रार्थना गरौं भन्छु, त्यति नै जोडसँग प्यालेस्टाइनलाई मुक्त गरौं भन्छु’, उनको एक ट्विटमा लेखेकी थिइन् ।

त्यस्तै फेब्रुअरीमा भारतमा किसानहरुले गरेको विरोध प्रदर्शनको समर्थन गर्दै उनले ट्विट गरेकी थिइन्- ‘मानव अधिकारको उल्लंघनका क्रममा केके भइरहेको छ ? नयाँ दिल्ली वरपर इन्टरनेट काटिएको छ रे ?’

मिया खलिफाको आफ्नो युट्युब च्यानल पनि छ । मिया के नामको उक्त युट्युब च्यानलमा हालसम्म ८ लाख ८५ हजारले सब्स्क्राइब गरेका छन् ।

लेबनानमा जन्मिएकी खलिफा मिडिया परसनालिटी एवं वेभक्याम मोडेल समेत हुन् । उनी २००१ मा दक्षिणी लेबनानमा चर्किएको द्धन्द्धपछि आफ्नो परिवारसँगै अमेरिका गएकी थिइन् । २०१४ देखि पूर्व पतिसँगै पोर्न भिडियो सार्वजनिक गर्न थालेपछि उनी चर्चामा आएकी थिइन् । हिजाब लगाएका पोर्न भिडियोमा अभिनय गरेका कारण इराक र सिरियामा सक्रिय इस्लामिक स्टेटले ज्यान मार्ने धम्की दिएपछि उनको चर्चा थप चुलिएको थियो ।

तर सन् २०१६ मा वाशिङ्टन पोष्टमा एक अन्तर्वार्ता दिँदै उनले ३ महिना मात्रै पोर्न उद्योगमा काम गरेको र एक वर्षअधि (२०१५) नै उक्त उद्योग छोडेको बताएकी थिइन् । पछिल्लो समय उनले विभिन्न सामाजिक सेवाका लागि आर्थिक सहयोग गर्दै आएकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x