मुख्यमन्त्रीको निवासमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ
मुख्यमन्त्रीको निवासमा ढुङ्गा प्रहार गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार करिब दिउँसो २ बजेर ३० मिनेटको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरबाट अन्दाजी १०० जनाको संख्यामा रहेको प्रदेश नं. २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निणर्य भएको विरोध स्वरुप निस्केको मोटरसाइकल र्यालीले नगर परिक्रमा गर्ने क्रममा एक जनाले मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेका थिए ।
र्यालीसँगै मोटरसाईकलमा आएका वीरगञ्ज महानगरपालिका वडा नं. १ का २६ वर्षिय सुमन पटेलले वडा नं.१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहार हुदाँ निवासको दुई वटा सिसा फुटेकोमा उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरेर जिल्ला प्रह्री कार्यालयमा ल्याएको छ ।
उनलाई आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।


