रेणु यादवलाई बर्खास्त गर्दै प्रधानमन्त्री देउवा, प्रहरीले अगाडि बढायो मुद्दा, पाँच वर्ष जेल हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्ने भएका छन् ।
हिंसा भड्काउने अभिव्यक्ति दिएर विवादित बनेकी मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी परेका बेला प्रधानमन्त्री देउवाले राजीनामा गराउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई ताकेता गरेका छन् । नभए बर्खास्त गरेर हटाउने भनेका छन् ।
यादवलाई मन्त्री पदबाट बर्खास्त गरी कानुनी कारवाही गर्न प्रधानमन्त्री देउवामाथि दबाब छ ।
बिहीबार नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रञ्जीत कर्णले प्रधानमन्त्री देउवालाई जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत ज्ञापनपत्र बुझाएका छन् । उनले मन्त्री यादवलाई तत्काल गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा जाहेरी दरखास्त पनि दिएका छन् । उनीमाथि मुलुकी अपराध संहिता २०७४ दफा ४९ (४) को उल्लंघन गरेको अभियोग छ ।
जाहेरीमा दुई समुदायबीच द्वन्द्व फैलाई सम्प्रदायिक दंगा फैलाउने र राष्ट्रिय एकतामा समेत असर पार्नेगरी अराजक तथा अपराधिक अभिव्यक्ति दिएको उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ दफा ४९ (४) को उल्लंघन गरेमा पाँच वर्ष कैद र ५० हजार जरिवानासम्म कैद सजाय हुनसक्ने प्रावधान छ ।
मुद्दा अघि बढेमा मन्त्री यादवको पदमात्रै जानेछैन उनी पाँच वर्ष जेल पनि जानेछिन् ।


