निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको अवलोकन
चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आज बिहीवार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको अवलोकन गरेका छन् । रङ्गशाला सम्बन्धमा भरतपुर महानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको अवसरमा मन्त्रीसहित मन्त्रालयको टोली र वाग्मती प्रदेशका मन्त्रीललगायतले अवलोकन गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले रोकिएको रङ्गशाला निर्माणको कामलाई सरकारको तर्फबाट जति सक्दो छिटो प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । यसअघि धुर्मुस सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र देश तथा विदेशबाट पनि सहयोग नपाएको भन्दै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो ।
त्यसपछि महानगरकी मेयर रेणु दाहालले स्वामित्व लिने प्रतिबद्धता जनाएकी थिईन् । रंगशाला निर्माणकै क्रममा करोडौं रुपैया हिनामिना गरेको आरोपमा उनीहरुले हिनामिना नगरेको भन्दै यसरी अनुरोध गरेका थिए,‘र्धमुस सुन्तलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ ।
२०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो ।
कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो । अपेक्षित जनसहयोग जुट्न सकेन । विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित गर्न वाध्य हुनु पर्यो ।
यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो । सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको अनुमानित आम्दानी–खर्चको विवरण,
भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो । गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ ।


