११ आश्विन २०८३, आईतवार

नेपाली भूमिमा चिनियाँ सेना परिचालित ?

एसीपी संवाददाता

२० माघ २०७८, बिहीबार ०४:२४ मा प्रकाशित

काठमाडौँ – सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी सडक निर्माणको वहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) मार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित भएको खुल्न आएको छ ।

फौजी शैलीमा क्याम्प राखेर बसेको सीआरसीसीले गैरकानुनी रुपमा नेपालमा सुराकी समेत गर्ने गरेको स्थानीयको आरोप छ। त्यस्तै सीआरसीसीले कामदारको नाममा चिनियाँ सेनालाई ल्याएर नेपालको भूमि नै कब्जा गरेर बसेको छ। सीआरसीसीले तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्रमा क्याम्प बनाएर नेपाली भूमि कब्जा गरेर बसेको छ ।

चीनले सीआरसीसीका नाममा क्याम्पमा चिनियाँ सेना राखेर सादा पोसाकमा सुराकी गर्ने गरेको छ । चिनियाँ सेना सादा पोसकमा नेपाली भूमिमा पसेर दिनभर बस्ने, मदिरा सेवन गर्ने र सर्वसाधारणलाई दुब्र्यवहार गर्ने गरेका थिए। कयौं पटक उनीहरुलाई स्थानीयले लखेट्नु परेको थियो।

उक्त निर्माण कम्पनीमा कामदारका रुपमा सेना परिचालन गरेको र उनीहरु मार्फत नै सुचना संकलन गर्ने, स्थानीय प्रहरी/प्रशासनलाई निर्देशन दिने र नेपाल भूमिमा चीनको पक्षमा वातावरण बनाउने काम गरिरहेको उनीहरु बताउँछन् ।

यतिमात्र होइन, उनीहरुले जनप्रतिनिधि मार्फत स्थानीय तहमा समेत अनावश्यक रुपमा हस्तक्षेप गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुलाई चीन भ्रमण लैजानेदेखि उपचार वितरण गर्ने, राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण गर्ने लगायतका काम समेत सीआरसीसी मार्फत चिनियाँ सेनाले नै गर्दै आएको उनीहरुको भनाइ छ ।

यसअघि भन्सार नजिकै रहेको सीआरसीसीको क्याम्प विस्तार गर्दै लगिएको छ। अहिले लामोसाघुमा कम्पनीको क्याम्प रहेको स्थानीवासी बताउँछन् । अहिले उक्त क्षेत्र चीनियाँको कब्जामा छ।

सीआरसीसीकी प्रतिनिधि सुलोचना लामिछानेले भने आफूहरु सुरुदेखि नै लामो साँघुमा रहेको दाबी गरेकी छिन् । सीआरसीसीका नाममा चिनियाँ सेनाको गतिविधि वढेको र क्याम्प राखेको विषय भने उनले अस्विकार गरिन्।

यो विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै एउटा देशको सेना अर्को देशमा प्रवेश गरेको भए नेपालको सेना तथा सशस्त्र प्रहरीले आफनो हिसाबले त्यसको ब्यवस्थापन गर्ने उनको भनाइ छ। नेपाली भूमि कब्जा गरेर बसेको विषयमा उनले सीआरसीसी कब्जा गरेर नभई काम गर्नका लागि भाडा तिरेर बसेको बताइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x