१३ मंसिर २०८३, शनिबार

भीम रावलको सहमतिमा एमसीसीमा भएको त्यो राष्ट्रघात, जसलाई कांग्रेसले सच्चायो

एसीपी संवाददाता

२२ माघ २०७८, शनिबार ०३:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा भीम रावल मन्त्री भएकै बेला राष्ट्रघात भएको पाइएको छ ।

एमाले अध्यक्ष केपी ओली पहिलोपटक प्रधानमन्त्री तथा उपाध्यक्षरहेका भीम रावल रक्षा मन्त्री हुँदा एमसीसीमा अमेरिकी कानुन लागु हुने स्वीकार गरेर सम्झौता गरिएको थियो ।

ओलीको अध्यक्षता तथा रावल सदस्य रहेको मन्त्रिपरिषदले अमेरिकाको न्युयोर्क राज्यको कानुन लागु हुने स्वीकार गरेर निर्णय गरेको थियो । त्यतिबेला मन्त्री रहेका रावलले एमसीसीमा त्यस्तो आपत्तिजनक र राष्ट्रघाती प्रावधान राख्दा पनि विरोध गरेनन् । उल्टै रावलकोसमेत सहमतिमा क्याविनेटबाट निर्णय भयो ।

नेपाल सरकार र एमसीसीबीच २० जुलाई २०१६ मा भएको ‘एमेन्डेड एण्ड रिस्टेटेड इनिसियल इंगेजमेन्ट टेक्निकल एसिसटेन्ट्स ग्रान्ट एग्रिमेन्ट’ (प्रारम्भिक संलग्नता प्राविधिक सहायता अनुदान सम्झौता) मा न्युयोर्क राज्यको कानुन लाग्ने र नेपालको कानुन बाझिएमा अन्य कुनै कानुन मान्ने नहुने उल्लेख छ ।

यो सम्झौता गर्न ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री रहेको मन्त्रिपरिषदले निर्णय गरेर अर्थ मन्त्रालयलाई अख्तियारी दिएको थियो । जसअन्तर्गत एमसीसीका उपाध्यक्ष क्याह किम र अर्थ मन्त्रालयका सह सचिव बैकुण्ठ अर्यालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौताको धारा ८ को दफा ८.१ (क) मा ‘यो सम्झौताको सम्बन्धमा न्यूयोर्क राज्यको कानुन लागू हुनेछ र त्यो कानुन लागू हुँदा अन्य कानुन लागू गर्ने भनी दाबी गर्न पाइने छैन’ भनेर उल्लेख छ ।

मन्त्री भएका बेला आफ्नै सहमतिमा अमेरिकी कानुन मान्ने गरी सम्झौता गर्न लगाएका रावलले अहिले अमेरिकी कानुन लाग्ने भन्दै राष्ट्रवादसँग जोडेर विरोध गरिरहेका छन् । जबकी उनी सम्मिलत मन्त्रिपरिषदले अमेरिकाको एउटा स्टेटको कानुन मान्ने भनेर कति ठूलो राष्ट्रघात गरेको थियो भन्ने रावललाई हेक्का छैन । रावलकोसमेत सहमतिमा भएको त्यो राष्ट्रघातलाई कांग्रेसले सच्याइसकेको छ ।

१४ सेप्टेम्बर २०१७ मा एमसीसीको सम्झौतामा हस्ताक्षर गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अमेरिकी कानुन लागू हुने व्यवस्थालाई हटाएर अन्तर्राष्ट्रिय कानुन लागू हुने प्रावधान राख्न लगाएको थियो । सम्झौतामा हस्ताक्षर गर्न वाशिंटन पुगेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओली र रावलका पालामा भएको राष्ट्रघात सच्याएर सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सच्याएर सम्झौताको दफा ६.४ मा ‘यो कम्प्याक्ट एक अन्तर्राष्ट्रिय सम्झौता हो र यसलाई अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तद्वारा शासित गरिनेछ’ भन्ने उल्लेख गरियो । कानुनका जानकारकाअनुसार एमसीसी कार्यान्वयनका क्रममा आएको विवादमा अब न अमेरिका न नेपाल, दुबै देशको कानुन लाग्दैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x