१३ मंसिर २०८३, शनिबार

कांग्रेसमा आरजु राणाको जबरजस्त प्रभाव,

एसीपी संवाददाता

२३ माघ २०७८, आईतवार ०२:२८ मा प्रकाशित

काठमाडौं । चौथौं महाधिवेशनपछि नेपाली कांग्रेसमा डा. आरजु राणाको जबरजस्त प्रभाव देखिएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य निर्वाचित भइन ।

तीन दशक निरन्तर राजनीतिमा रहँदै पाँच पटक प्रधानमन्त्री बनेका आफ्ना देउवाको पदचाप पछ्याउँदै आरजुले कांग्रेसमा छुट्टै छाप छोडेकी हुन् । महाधिवेशनकै बेला उनलाई भावी महामन्त्रीका रुपमा हेरिएको थियो । यो कुरालाई बल पुग्नेगरी कांग्रेसमा आरजु जबरजस्त रुपमा अघि बढेकी हुन् । उनले पार्टीका सबै पक्षसँग सन्तुलित सम्बन्ध राखेर अघि बढेकी छन् ।

अहिले सन्तुलित रुपमा सबैलाई मिलेर अगाडि बढ्दै उत्कृष्ट नतिजा हात पारिरहेका प्रधानमन्त्री देउवाको पदचाप आरजुले पछ्याइरहेकी छन् । देउवाले १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने छैनन् । उनको समूहबाट को हुन्छ उत्तराधिकारी भनेर चर्चा र परिचर्चा हुन थालेका छन् ।

देउवा समूहबाट दुई वटा गुट निर्माण हुने चर्चामा छन् । पहिलो गुट उप–सभापति पूर्णबहादुर खड्काले निर्माण गर्नेछन् । दोस्रो गुट केन्द्रीय सदस्य डा.आरजु राणाले गर्नेछिन् । उप–सभापति खड्काले १५औँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा अहिलेदेखि छनक दिन थालेका छन् ।

नेतृ डा.राणा पनि कमजोर छैनिन् । कांग्रेसभित्र डा.राणाको जबरजस्त उपस्थिति छ । उनलाई कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीको बलियो उम्मेदवारका रुपमा समेत लिन थालिएको छ । केन्द्रीय कार्यसमितिमा राम्रो मत ल्याएर निर्वाचित बनेकी छिन् ।

प्रतिनिधि सभाको निर्वाचनमा कैलालीबाट उम्मेदवार बनेर पुरुष उम्मेदवारसँग टक्कर लिएकी छिन् । त्यति मात्र होइन पूर्वसांसद समेत रहेकी डा.राणालाई नेपालको भावी पहिलो महिला प्रधानमन्त्रीका रुपमा समेत हेर्न थालिएको छ ।

नेपालमा महिला राष्ट्रपति, महिला सभामुख बनिसकेका छन् । अब महिला प्रधानमन्त्रीको पालो छ । डा.राणा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा परिचित नाम हो । डा.राणालाई बौद्धिक रुपमा समेत लिने गरिन्छ । सामाजिक कार्यहरूमा उनको ठूलो योगदान छ । महिलाका क्षेत्रमा डा.राणाले गरेको योगदानले नेपालमा क्रान्तिनै ल्याइदिएको चर्चा हुने गरेको छ ।

दक्षिण एसियामा डा.राणाको नाम अग्रपंक्तिमा आउनेगर्छ । म्यानमारकी नेतृ आङसाङ सुकीपछि डा.राणालाई लिने गरिएको चर्चा समेत छ । डा. राणाका विषयमा उनका पति समेत रहेका प्रधानमन्त्री एवम् सभापति देउवासँग जोडेर विभिन्न कुराहरू बाहिर आउने गरेका छन् । त्यसमा सत्यता छैनन् ।

डा.राणा आफैमा सक्षम महिला हुन् । डा.राणाले कांग्रेसभित्र एउटा धार निर्माण गरिन् भने त्यो नै बलियो हुने देखिन्छ । राजनीतिक विश्लेषकहरूले पनि डा.राणाको राजनीतिक भविष्य निकै उज्वल रहेको चर्चा गर्ने गरेका छन् ।

डा.राणाले कांग्रेसका इमान्दार, सक्षम, योगदान गरेका र कुशल नेताहरूलाई साथमा लिन समेत थालिसकेकी छिन् । उनले पहिलो महिला महामन्त्री बनेर पार्टीभित्र र देशको पहिलो महिला प्रधानमन्त्री बनेर कीर्तिमान कायम गर्ने विश्लेषकहरु बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x