१३ मंसिर २०८३, शनिबार

सोमबारदेखि खर खडाइका लागि निकुञ्ज प्रवेश

एसीपी संवाददाता

२५ माघ २०७८, मंगलवार ०४:२६ मा प्रकाशित

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले आज सोमबारदेखि खर खडाइका लागि निकुञ्ज प्रवेश खुला गरेको छ । ग्रामीण भेगमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासीको घरगोठ निर्माणका लागि आवश्यक पर्ने खर, बाबियो काट्न हरेक वर्ष झैँ यस वर्ष पनि खर खडाइका लागि निकुञ्जले प्रवेश खुला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

बर्दिया निकुञ्जमा पाटे बाघ गणनाको कार्यक्रम चलिरहेको हुँदा यस वर्ष झन्डै एक महिना ढिला गरी निकुञ्ज प्रवेश खुला गरिएको हो । निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुविधाका लागि प्रत्येक वर्ष खर खडाइ काट्न प्रवेश खुला गर्ने गर्छ । घरगोठ छाउन, घरगोठका भित्ता बेर्न, खटिया, भकारी बनाउन, डोरी, दाम्ला लगायतका काममा प्रयोगमा आउने खर खडिया काट्न स्थानीयवासी हरेक वर्ष जोखिम मोलेर निकुञ्ज भित्र पस्ने गर्छन् ।

निकुञ्ज प्रवेशसंगै बाघको पनि उत्तिकै खतरा छ । तरपनि बिहान सूर्योदयदेखि सूर्यास्तसम्म निकुञ्जभित्र रहेका खर, खडिया, बाबियो, मुँज, सिँठा मात्र काट्न पाउने गरी २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि निकुञ्ज प्रवेश खुला गरिएको हो । खर खडाइका लागि निकुञ्ज पसेका बेला निकुञ्जभित्रका जङ्गली हात्ती, बाघ, गैँडा, भालु लगायतका वन्यजन्तुको आ क्र म णमा परि बर्सेनि स्थानीयवासीले ज्यान गुमाउँदै र घाइते हुँदै आएका छन् ।

पहिलो दिन आज झन्डै २० हजार जना निकुञ्ज भित्र प्रवेश गरेको र तीन दिनभित्रमा मध्यवर्ती क्षेत्रका झन्डै २५ हजार बढी मानिस खर खडाइका लागि निकुञ्ज प्रवेश गर्नेछन् । विगतका वर्षहरू भन्दा यस वर्ष निकुञ्ज प्रवेश गर्नेको सङ्ख्या घटेको छ । पाटे बाघका आक्रमणका घटना, जङ्गली हात्तीको आक्रमण र जाडोले गर्दा पनि यस वर्ष कम मानिसले प्रवेश पुर्जी काटेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x