कुटनीतिक मर्यादा विपरित खेलकुद मन्त्री रुस जाँदै !
काठमाडौं । रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई समर्थन गरेको बेला नेपालबाट मन्त्रीसहितको टोली रुस भ्रमणमा जान लागेको छ ।
दशकौँदेखिको रुस–नेपालबीचको दौत्य सम्बन्धलाई लत्याउदै दुई महिना अघि नेपालले रुसलाई छाडेर युक्रेनलाई समर्थन गरेको थियो । त्यसपछि नेपाल–रुस सम्बन्ध कोमा रहेको छ ।
यस्तो अवस्थामा नेपालबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ सहितको जम्बो टोली रुस जान लागेको हो । नेपाल बक्सिङ संघको एक सामान्य एजेन्डासहित डेढ दर्जन टोलीको नेतृत्व गर्दै मन्त्री अथक रुस जानका लागि तयारी गरिरहेका छन् ।
मन्त्रीसहित मन्त्रीका स्वकीय सचिव, श्रीमती, मन्त्रालयका अधिकारी, राष्ट्रिय खेलकुद परिषद राखेपका प्रशासन प्रमुखहरु तथा बक्सिङ संघका अध्यक्ष राम अवालेसहितका पदाधिकारीको टोली जान लागेको स्रोतले जनाएको छ ।
रुस–युक्रेन युद्धमा नेपालले युक्रेनको समर्थन गरेर नेपाल र रुसको सम्बन्धमा दरार आएको अवस्थामा नेपालबाट सरकारी टोली रुस जानु आफैंमा कुटनीतिक मर्यादा विपरीत भएपनि मन्त्री गहतराजले त्यसलाई वेवास्था गरेका छन् ।
बक्सिङका लागि आर्थिक सहायता सम्झौता गर्न मन्त्रीकै नेतृत्वमा टोली जानु नपर्ने भएपनि मन्त्री गहतराज आफै जान लागेको स्रोतले जनाएको छ । नेपालमा यतिबेला आर्थिक संकट गहिरिदो अवस्थामा छ ।
आर्थिक संकट गहिरिएका बेला डलर सञ्चिति पनि कम छ । तर सरकार नै त्यस विषयमा वेवास्था गरेर मन्त्रीको भ्रमण स्वीकृत गर्न लागेको स्रोतले जनाएको छ । उनीहरु बक्सिङ संघको सम्झौता गर्न जाने बहानमा मात्रै भएको राखेपका एक अधिकारीले बताए । माओवादीभित्र मन्त्रिपरिवर्तन गर्ने हल्ला चलिरहेका बेला एक पटक पनि विदेश जान नपाई मन्त्रीबाट हट्नु पर्ने अवस्थामा आउन लागेको भन्दै उनले बक्सिङ संघको नाममा विदेश जाने प्रपञ्च रचेको स्रोतको दावी छ ।
बक्सिङ संघका अध्यक्ष अवाले आफैले व्यक्तिगत इमेल कार्यालय काममा लगाएका छन् । त्यसो त यो संघ नै अवैधानिक रहेको छ । २०७३ साल जेठ २० गते चार वर्षका भनेर यो कार्यसमिति आएको हो । तर अहिलेसम्म संघ चलाइरहेको छ । २०७७ जेठ ४ गते यसको समय सकिएको हो । तर कोरोना भाइरसको महामारीका कारण भन्दै छ महिनाभित्र निर्वाचन गर्ने गरी समय थपिएको थियो । त्यो समय पनि मंसिरमा सकिएको भएपनि उनी आफै अध्यक्ष छन् । नेपालबहस


