१ श्रावण २०८३, शुक्रबार

डा.केसी त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा

एसीपी संवाददाता

१५ आश्विन २०७७, बिहीबार ०७:२० मा प्रकाशित

फाइल तस्बिर

त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ । डा. गोविन्द केसीको १९ औं अनसन स्थल ।

त्यहाँ पुग्नुपूर्व ठूलो बैठक कोठा पार गर्नुपर्छ, जहाँ हवल्दारको नेतृत्वमा तीन प्रहरी छन् । डा. केसीलाई भेट्न पुग्ने जो कोहीलाई प्रहरीले त्यहीँ रोक्छ । पत्रकार देख्यो भने उर्दी जारी गर्छन्, ‘फोटो खिच्नचाहिँ पाइँदैन है ! क्यामेरा बाहिरै राखेर जानुहोला ।’

‘फोटो खिच्न डा. केसीले रोकेको कि तपाईंहरुले ?’ नियम अस्वभाविक लागेकाले सोध्यौं ।

एक प्रहरीले झर्किंदै भने, ‘यहाँ आउन पनि अनुमति लिनुपर्छ । तर, तपाईंहरु आइहाल्नुभएछ । फोटो खिच्न नदिने माथिको आदेश छ ।’

डा. केसीलाई भेटेर साझा पार्टीका संयाेजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार बाहिरिए । ‘हामीले भेट्यौँ । शुभेक्षा प्रकट गर्यौँ र फर्कियौँ । उहाँ बोल्न सक्नुहुन्न, बोलाउने चेष्टा पनि गरेनौँ’, मिश्रले अनलाइनखबरसँग भने, ‘दुःखको कुरा त यो छ कि सरकारले गर्नुपर्ने काम नगरेर उहाँ अनसन बस्नुपरेको छ र पनि सरकारले पूरै बेवास्ता गरिरहेको छ ।’

फाइल तस्बिर

हुन पनि डा. केसीलाई भेट्न अहिलेसम्म सरकार पक्षको कोही पनि पुगेका छैनन् । न सत्तारुढ दलका नेता, न कुनै मन्त्री, न कर्मचारी ।

डा. केसीका समर्थक सञ्जिव कार्कीको अनुमतिमा हामी डा. केसी अनसनरत कोठा प्रवेश गर्यौँ । मास्क लगाएर ओछ्यानमा पल्टिरहेका छन् डा. केसी । ६४ वर्षीय उनका आधा कपाल सेतै फूलेका छन्, आधा झरेका । गडेर खोपिल्टा परेजस्तो देखिने उनका दुई आँखा चिम्म छन् । डा. केसी शान्त छन् । न कुनै छटपटी, न हलचल । स्ट्याचुजस्तो । उनी सुतेको बेडमा टाँसिएको पोस्टर सजिलै पढ्न सकिन्छ– दुरदराजमा मेडिकल शिक्षा खोई ?

डा. केसीको हातमा स्लाइनका थोपाहरु छिरिरहेछन् । छेउमा मोनिटरले मुटुको ढुकढुकी बताइरहेको छ । डा. केसीको टाउकोको ठीक माथि अर्को पोस्टर टाँसिएको छ– आमरण अनसनको आज १७ औँ दिन । सञ्जिव भन्छन्, ‘उहाँलाई डाक्टरहरुले अस्ति नै आईसीयूमा लैजाने सुझाव दिनुभएको थियो । तर, उहाँले सलाइनपानीबाहेक कुनै औषधिसमेत लिन मानिरहनु भएको छैन ।’

‘सोलिडारिटी फर डा. केसी एलायन्स’ द्वारा    काठमाडौंको माइतिघरमा प्रदर्शन

‘सोलिडारिटी फर डा. केसी एलायन्स’ द्वारा काठमाडौंको माइतिघरमा प्रदर्शन

उनका अनुसार डा. केसीको स्वास्थ्य हेर्ने पाँच जना डाक्टरको टिम छ । उनीहरुले प्रत्येक घण्टामा डा. केसीको स्वास्थ्य परीक्षण गरिरहन्छन् ।

छबुँदे माग राख्दै जुम्लाको चन्दननाथ–६, बाबिरामस्टा मन्दिरको धर्मशालाबाट २९ भदौमा सत्याग्रह शुरु गरेका डा. केसीलाई गत ६ असोजमा काठमाडौं ल्याइएको थियो । काठमाडौं एयरपोर्टबाट प्रशासनले जबरजस्ती डा. कसीलाई ट्रमा सेन्टरमा पुर्याएको थियो । फेरि उनकै इच्छामा अर्को दिन त्रिवि शिक्षण अस्पताल, त्यही ल्याएको हो । यो त्यही अस्पताल हो, जहाँ डा. केसीले २६ वर्ष निरन्तर सेवा गरेर गत वर्ष सेवानिवृत्त भए ।

****

अहिले डा. केसी आफैं हलचल गर्न सक्दैनन् । कोल्टे फेर्नुपर्यो भने इशारा गर्छन् । सहयोगीले केसीलाई सहयोग गर्छन् । उनका सहयोगीका रुपमा आफन्त र समर्थक गरी छ जना खटिएका छन् । बुधबार दिनभर डा. केसीसँग सञ्जिव थिए । उनी भन्छन्, ‘कहिलेकाहीँ उठाइदिन भन्नुहुन्छ र अडेस लागेर बस्नुहुन्छ । हिँड्न सक्नुहुन्न, त्यसैले बेडबाट पिसाब फेर्न सहयोग गरिदिन्छौँ ।’

डा. केसी कहिलेकाहीँ राति ऐया, आत्थो गर्छन् । बेचैन भएको अनुभूति गर्छन् । उनका सहयोगीमध्येका एक सञ्जिव भन्छन्, ‘हामीले उठायौँ भने उहाँ चुप बस्नुहुन्छ । कुनै प्रतिक्रिया दिनुहुन्न ।’

आफूलाई दुखेको कुरा अरुलाई भनेर थप बोझ नथप्ने डा. केसीको स्वभाव भएको उनले सुनाए । ‘बेलाबेला छाती र मांसपेशीहरु अत्याधिक दुखेको उहाँले नजानिदो ढंगले देखाउने प्रतिक्रियाबाट थाहा पाउँछौँ अनि मसाज गरिदिन्छौँ’, उनले थपे, ‘काठमाडौंमा जस्तै कर्णालीमा पनि प्रहरीले उहाँलाई लछारपछार गरेको थियो । स्थिर रहेको उहाँको शरीरमा त्यसले निकै चोट दिएजस्तो भएको छ ।’

अनसनरत डा.केसीको समर्थनमा कपिलवस्तुमा युवाहरुको धर्ना

अनसनरत डा.केसीको समर्थनमा कपिलवस्तुमा युवाहरुको धर्ना

डा. केसी कहिलेकाहीँ मात्र बोल्छन् । एक पटक उनले भनेका थिए, ‘मैले राजनीति गर्न वा पद पाउन यो गरिरहेको छैन । राजनीति गर्न जान्दिनँ, तर बुझ्छु र बुझिरहेको छु ।’ हुन पनि मेडिकल शिक्षा सुधारका लागि निरन्तर अनसनरत डा. केसीलाई जति कसलाई थाहा होला र नेपालको राजनीति । राजनीतिले गरिरहेको घात प्रतिघात, मेडिकल माफियामाथि सत्ताको सहानुभूति, जनतालाई देखाइएका खोक्रो आश्वासनको साक्षी हुन् डा. केसी ।

करिब १५ मिनेटपछि डा. केसीले आँखा खोले । तर केही बोलेनन् । एकतर्फी सिलिङमा हेरिरहे । ‘उहाँ त्यति धेरै निदाउन पनि सक्नुहुन्न । कहिलेकाहीँ भजन लगाउन भन्नुहुन्छ । हामीले मन्द स्वरमा भजन लगाइदिन्छौँ । उहाँ सुन्दै आँखा ढिप्काइरहनुहुन्छ,’ सञ्जिवले भने ।

डा. केसीको मागप्रति सरकारले अझै आधिकारिक धारणा व्यक्त गरेको छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ शुरु गर्ने र हरेक प्रदेशमा सरकारी मेडिकल कलेज हुनुपर्ने, भ्रष्टाचारको छानविन गरी कारबाही गर्नुपर्ने डा. केसीको माग सरकारले सुनेको छैन । निरन्तर अनसन बसेर डा. केसीले दिएको जवाफले पक्कै सत्तालाई खल्बल्याएको छ, सत्ताधारीमा खैलाबैला मच्चाएको छ ।

डा. केसीको समर्थनमा नियमितजसो माइतीघर मण्डलामा युवाहरुको जुलुस निस्किरहेको छ । कहिलेकाहीँ सहयोगीले यस्ता जानकारी र मिडियामा आएका समाचारहरुबारे डा. कसीलाई थाहा दिन्छन् ।

सत्याग्रहमा रहेका डा.गोविन्द केसीको अवस्था गम्भीर

नेविसंघ कंञ्चनपुर द्धारा विरोध प्रदर्शन

कोठा नम्बर ५०१ मा बस्दाबस्दै डा. केसीलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राई आइपुगे । उनले डा. केसीलाई भने, ‘नैतिकता भएकाहरुले पो नैतिकताको ख्याल गर्छ त । तपाईंले अनसन फिर्ता लिनुपर्यो । पहिले आफ्नो ज्यान बचाउनुपर्यो ।

तर यो आफ्नो निर्णायक अनसन भएको र सरकारले माग पूरा नगरे अनसनकै क्रममा मृत्युवरण गर्न पछि नपर्ने बताइसकेका डा. केसी लामो समय केही बोलेनन् । विस्तारै हात उठाए र भाषिएको स्वरमा भने, ‘धन्यवाद् ।’

सञ्जिव भन्छन्, ‘उहाँका ओंठ कलेटी परेका छन् । पट्पटी फुटेका छन् ।’ थाहा छैन डा. केसीको यो अनसन कति लामो समयसम्म लम्विन्छ / सभार अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x