भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रवार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रवार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण देखिएको छ भने चार जनाको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ।
त्यसमध्ये नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा १८ भारतीय र एक विदेशी तथा उत्तराखण्ड र पश्चिम बङ्गालमा एक-एक जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।
कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै हाल आवातजावतका लागि नेपाल र भारतले चारवटा नाका खुला राख्ने निर्णय गरेका छन्।
अझ कडाइ
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले हाल स्वास्थ्य जाँच गरेर नेपाल र भारतका नागरिकहरूलाई तोकिएका नाकाहरूबाट आवतजावतको व्यवस्था मिलाइएको भए पनि परिस्थिति हेरेर त्यसबारे थप निर्णय गरिने बताए।
उनले भने, “अहिले ४ वटा प्रवेशबिन्दुहरू तोकिएको छ। अवस्था हेरेर त्यसलाई घटाउन सकिन्छ। परिस्थिति अझ बिग्रियो भने सबै आवतजावत नै नियन्त्रण गर्नुपर्ने हुन्छ।”
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति
अहिले नै हामीले आवतजावत पूर्ण रूपमा नियन्त्रण गर्ने भनिसकेका छैनौँ। तर परिआउँदा उच्चस्तरीय समितिमार्फत् लकडाउनसम्मको निर्णय पनि गर्नुपर्ने हुन्छ।”
उनले ‘लक डाउन’ को अवस्थामा पनि भारतबाट सामानको ढुवानीका लागि भने खुल्ला नै राख्ने उल्लेख गरे।
कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै भारतको गृह मन्त्रालयले रानीगन्ज (काँकडभिट्टा), रक्सौल (वीरगन्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) बाट मात्र मानिसहरूले आवतजावत गर्न पाउने सूचना छ दिनअघि जारी गरेको थियो।
भारत नेपाल
केन्द्रका अधिकारीहरूले अवस्थालाई नजिकबाट नियालिरहेको बताइरहँदा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेश नजिकैको बेल्हिया नाकाबाट बिहीवार १३ हजार जनाभन्दा बढी नेपाल प्रवेश गरेको सीमामा खटिएका एक अधिकारीले बीबीसीलाई बताए।
बेल्हिया नाकामा स्वास्थ्य जाँचको व्यवस्थापन गरिरहेको सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख उमा थापा भन्छिन्, “एकदमै भिडभाड हुने भएकाले हामीले नाम लेख्न सकिरहेका छैनौँ। तर सबैको जाँच गरिरहेका छौँ।”
“बिहीवार गोरखपुरबाट विवाहमा आउँदै गरेकी एक बालिकामा लक्षण जस्तो देखिएपछि हामीले उतै फिर्ता गरिदियौँ। भारततर्फ पनि प्रवेश गर्नेहरूलाई जाँच भइरहेको छ र हामी दुवै पक्षबीच राम्रो समन्वय रहेको छ।”
नेपाल र भारतबीच झण्डै १८ सय किलोमिटर लामो खुला सिमाना रहेको छ र दैनिक उपभोग्य सामग्रीदेखि अधिकांश उत्पादनमा नेपाल भारतसँग निर्भर रहने गरेको छ।
यसअघि बिहीवार भारतले आइतवारबाट लागु हुने गरी एक सातासम्मका लागि कुनै पनि अन्तर्राष्ट्रिय उडानहरूलाई आफ्नो देशका विमानस्थलमा अवतरण गर्न नदिने बताएको थियो।bbc news