बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध


सरकारले आज बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । योसँगै नेपालका ७७ वटै जिल्ला आज (मंगलबार) देखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ । सरकारले चैत १८ गतेसम्मका लागि यो नियम लागु रहने जनाएको छ । औषधि उपचार, खानेपानी जस्ता अत्यावश्यक बाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ । त्यस्तै आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ । संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले आग्रह गर्नुभयो । काठमाडौँमा कोरोना भाइरसको संक्रमण भएका बिरामी भेटिएपछि सरकारले मानिसहरुको आवतजावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निर्णयको पालना भए–नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ ।