संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको संख्या आठ

चैत १९ । संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको संख्या आठ पुगेको छ । मंगलबार थप दुई जनामा संक्रमण देखिएको छ ।
यूएईको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दुई नेपाली सहित ५३ जनामा संक्रमण देखिएको जानकारी दिइएको छ। ५३ जनामध्ये ३१ जना भारतीय छन्। यूएईमा संक्रमितको संख्या ६६४ पुगेको छ। साथै थप एक जनाको मृत्यु भएको छ। अहिलेसम्म युएईमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
आठ जना नेपालीमध्ये दुई जना निको भएर काममा फर्किसकेका छन्। ६ जना नेपालीको अवस्था स्थिर छ। नयाँ संक्रमितमध्ये अधिकांश संक्रमित व्यक्तिको सम्पर्कमा गएकाहरु रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
साउदीमा एकैदिन ११० जनामा देखियो
साउदी अरबमा मंगलबार एकैदिन ११० जना कोरोना भाइरसको संक्रमण देखिएको छ।
रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५६३ पुगेको छ। संक्रमितमध्ये १६५ जना उपचार पश्चात् निको भएका छन् भने १० जनाको मृत्यु भएको छ। नेपाली कामदारमा संक्रमण देखिएको छैन। इ कान्तिपुर