अध्यक्ष थापाले भगवद् गीता हातमा लिएर पार्टी नफुटाउने कसम खाए

राप्रपाका अध्यक्ष कमल थापाले भगवद् गीतामा हातमा लिएर पार्टी नफुटाउने कसम खाएका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपालाई नफुटाउने र फुट्न नदिने कसम खाएका हुन्।
कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच बुधबार औपचारिकरुपमा एकता भएको हो।
राष्ट्रिय सभागृहमा उपस्थित पार्टी कार्यकर्ताहरु, देशभर टेलिभिजनबाट कार्यक्रम हेरिरहनुभएका लाखौँ साथीहरु, विदेशमा रहेर पनि पार्टीलाई माया गर्ने साथीहरुलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म महिल्यै पनि पार्टी फुटाउने छैन’, उनले भने।
उनले यसो भन्दै गर्दा हलमा तालीको गड्गडाहट गुञ्जिएको थियो। त्यसपछि उनले खल्तीमा हात हालेर सानो डायरीजस्तो पुस्तिका निकालेर भने, ‘तपाईहरुलाई विश्वास लागेन, मैले गीता ल्याएको छु। हामी हिन्दू धर्म चाहने सनातन धर्मका पक्षपातीहरु, यो गीतालाई हातमा राखेर भन्छु–राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन।’ उनले गीता अन्य नेताहरुलाई पनि चाहिन सक्ने भन्दै रोस्टममै छाडेका थिए।
उनले राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास प्राप्त हुन नसकेको र जनविश्वास प्राप्त गर्न एकताबाहेक अरु उपाय नभएको बताए।
‘त्यसैले यो एकतालाई सार्थक बनाएका छौं। यो एकतासँगै राष्ट्रिय राजनीतिमा सशक्त तेस्रो राजनीतिक धार उदय भएको छ,’ उनले दुई राप्रपाबीच भएको एकतासभालाई संबोधन गर्दै भने, ‘साम्यवादी र समाजवादी धार हावी भएको छ। कम्युनिष्ट र काँग्रेस दुवै नै वामपन्थी र मध्यवामपन्थीहरु हुन् र त्यही धार हावी भइरहेकाे छ।’
अध्यक्ष थापाले नेपाली राजनीतिमा लामो योगदान दिएका र उमेरले प्रौढ बने पनि जोशका साथ अगाडि बढेको भन्दै नेताहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहोनीको प्रशंसा समेत गरेका थिए। सभार -नेपाल खबर