३ असार २०८१, आईतवार

नेपाल र भुटानकाले भारत पस्न भिसा लिनु नपर्ने,संक्रमणको शंका लाग्यो भने नेपाली पनि १४ दिन क्वारेन्टाइनमा

एसीपी संवाददाता

३० फाल्गुन २०७६, शुक्रबार ०३:२२ मा प्रकाशित

नेपाल–भारतबीचको १७५१ किलोमिटर खुला सीमामा औपचारिक रूपमा करिब दुई दर्जन नाका चलेका छन् । तीमध्ये पाँच प्रमुख नाका हुन् । दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले नाकामा स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै किसिमको अवरोध नभएको बताए ।

‘नेपाल र भारतका सम्बन्धमा अहिले जे व्यवस्था छ, त्यही निरन्तर छ कुनै अवरोध छैन,’ उनले भने । उनले दूतावासले भारतको पछिल्लो अवस्था र त्यसले पार्न सक्ने असरलाई अध्ययन गरिरहेको बताए ।

काठमाडौंस्थित भारतीय दूतावासले पनि पछिल्लो निर्णयबाट हवाई तथा स्थलमार्ग हुँदै भारततर्फ यात्रा गर्ने नेपालीलाई असर नपर्ने जनाएको छ । दूतावासले जारी गरेको सूचनामा नाकामा स्वास्थ्य परीक्षणका क्रममा भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिए वा चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनीमध्ये कुनै एक मुलुकको १५ फेब्रुअरीपछि भ्रमण गरेको पाइए क्वारेन्टाइनमा राख्न सकिने उल्लेख छ । भारतले म्यानमारसँगको सीमा भने मंगलबारबाटै बन्दगरिसकेको छ ।

भारतको दिल्ली राज्य सरकारले संक्रमणको जोखिम घटाउन आगामी ३१ मार्चसम्म सबै विद्यालय, कलेज र सिनेमा हल बन्द गर्न निर्देशन दिएको छ । हालसम्म दिल्लीमा ६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । भारतभरमा भने ७३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १७ जना विदेशी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूको विदेश भ्रमणमा रोक लगाइएको जनाएका छन् ।

मोदीले ट्वीट गर्दै नागरिकलाई पनि अत्यावश्यक काममा बाहेक यात्रा नगर्न अनुरोध गरेका छन् । कोभिड–१९ महामारीको चपेटामा सबैभन्दा बढी भारतीय अर्थतन्त्रमा परेको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको भोलिपल्ट भारतको सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट देखिएको छ । भारतको प्रमुख बजार बम्बे स्टक एक्सचेन्जको प्रमुख परिसूचक सेन्सेक्स बिहीबार ८.१८ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दो भाउ र कोभिड–१९ को विश्वव्यापी संक्रमणलाई सेयर बजार घट्नुको प्रमुख कारण ठानिएको छ ।

कोभिड–१९ संक्रमणको असर पर्यटन क्षेत्रमा पनि बढी देखिएको छ । हवाई कम्पनीहरूले अन्तर्राष्ट्रियदेखि घरेलु उडानमा कटौती गर्दै लगेका छन् । भारतमा मार्च र अप्रिल पर्यटकीय समयका रूपमा चिनिन्छन् । भारतमा वर्षभरि आउने पर्यटकमध्ये १५ प्रतिशतभन्दा बढी यी दुई महिना मात्र भित्रिन्छन् । भारतमा काम गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी होटल, रेस्टुराँ र कारखानामा काम गर्छन् । सुदूर र मध्यपश्चिम पहाडबाट भारत आएका नेपालीमध्ये अधिकांश होटल र रेस्टुराँमै काम गर्छन् । भारतले चिनियाँ पर्यटकको आवागमनमा रोक लगाएकाले उनीहरूलाई लक्ष्य गरी खोलिएका रेस्टुराँ र होटललाई ठूलो असर परेको छ । ती रेस्टुराँ तथा होटलमा पनि नेपाली कार्यरत छन् ।
कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएसँगै संक्रमणविरुद्ध जुध्न भारत सरकारले १ सय २३ वर्ष पुरानो कानुन लागू गरेको छ । सन् १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड २ को व्यवस्था लागू गर्ने निर्णय गरिएको हो । सभार – इ कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
BrianVot
4 years ago

Many thanks! It is an wonderful web site.

1
0
Would love your thoughts, please comment.x
()
x