जनचेतना माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ तथा विज्ञान विषयको प्रदर्शनी सम्पन्न
श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालय, शिवराज नगरपालिका–८, लक्ष्मणपुरमा आज प्राविधिक धार अन्तर्गत सञ्चालित कम्प्युटर इन्जिनियरिङ तथा विज्ञान विषयको प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। 
प्रदर्शनीमा विद्यार्थीहरूले कम्प्युटर प्रविधि, विज्ञान तथा नवप्रवर्तनसँग सम्बन्धित विभिन्न परियोजना, नमुना तथा अनुसन्धानमूलक सामग्रीहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता, प्राविधिक ज्ञान तथा प्रयोगात्मक सीप प्रदर्शन गर्दै विद्यालयमा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने उत्कृष्ट प्रयास गरेका थिए।
कार्यक्रमको अवलोकन तथा अनुगमन गर्न शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री पूर्णबहादुर विश्वकर्मा, श्री बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री हेमराज पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री आनन्द कुमार शुक्ला, सदस्य श्री सतीश चन्द्र गुप्ता लगायत विभिन्न सरोकारवालाहरूको गरिमामय उपस्थिति रहेको थियो।
अवलोकनका क्रममा अतिथिहरूले विद्यार्थीहरूको सिर्जनशीलता, मेहनत तथा नवीनतम् सोचको उच्च प्रशंसा गर्दै यस्ता प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक दृष्टिकोण, अनुसन्धानमुखी सोच तथा प्राविधिक दक्षताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै, यस्ता गतिविधिले विद्यार्थीहरूलाई भविष्यमा विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा थप अध्ययन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।
विद्यालयले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, नवप्रवर्तनशील सोच र प्राविधिक सीप अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाहरूप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।



