२९ भाद्र २०८३, सोमबार

जसपा नेपाल छाड्दै मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

एसीपी संवाददाता

२९ भाद्र २०८३, सोमबार २०:१७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, भदौ २९ गते — लामो समयदेखि राजनीतिमा सक्रिय नेपालगन्ज उपमहानगरपालिका–४ निवासी मोहम्मद रहिस हल्वाई जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।
हल्वाईले श्रम संस्कृति पार्टीको ‘श्रमदाता सहयोगी सदस्य’ का रूपमा सदस्यता लिएका हुन्। उनलाई पार्टीका संगठन प्रमुख राजन राना मगरले सदस्यता प्रदान गरेका थिए।

पार्टी प्रवेशपछि हल्वाईले श्रम, उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकता दिएको अभियानमा आफू पनि जोडिन चाहेकाले श्रम संस्कृति पार्टी रोजेको बताए।

“राजनीतिलाई जनताको जीवनसँग जोड्नुपर्छ भन्ने मान्यताले मलाई श्रम संस्कृति पार्टीतर्फ आकर्षित गरेको हो,” उनले भने, “अब श्रम र उत्पादनमार्फत समाज र देश निर्माण गर्ने अभियानमा सक्रिय भएर लाग्नेछु।”

हर्कराज साम्पाङ राईको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले श्रम र उत्पादनलाई राजनीतिको आधार बनाउँदै आएको छ। पार्टीले पछिल्लो समय संगठन विस्तारसँगै सदस्यता अभियानलाई समेत तीव्रता दिएको जनाएको छ।

हल्वाईको पार्टी प्रवेशले बाँकेमा संगठन विस्तारमा थप सहयोग पुग्ने पार्टीका संगठन प्रमुख राजन राना मगरले बताए। उनका अनुसार पार्टीको विचार, नीति र अभियानप्रति आकर्षित भएर विभिन्न क्षेत्रका व्यक्तिहरू श्रम संस्कृति पार्टीमा जोडिने क्रम बढिरहेको छ।

“पार्टीको विचार र अभियानप्रति आकर्षित भएर विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिने क्रम जारी छ,” राना मगरले भने, “बाँकेमा पनि संगठनलाई थप व्यवस्थित र सशक्त बनाउँदै विस्तार गर्दै लैजानेछौं।”

हल्वाईको प्रवेशसँगै बाँकेमा श्रम संस्कृति पार्टीको संगठन विस्तार अभियानले थप गति लिने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x