नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा वृहत् रक्तदान सम्पन्न, ११२ जनाले गरे रक्तदान
नेपालगन्ज, बाँके -– “स्वेच्छिक रक्तदान, जीवनदान” भन्ने मूल नाराका साथ नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको आयोजनामा एक भव्य वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजमा रगतको अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउन नपरोोस् भन्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, युवा तथा स्थानीय बासिन्दाहरूको अभूतपूर्व सहभागिता देखिएको थियो।
नेपालगन्ज उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजना गरिएको यस रक्तदान कार्यक्रममा कूल ११२ जना रक्तदाताहरूले आफ्नो अमूल्य रगत दान गरेका छन्। “तपाईंको एक थोपा रगतले कसैको जीवनमा आशा जगाउन सक्छ” भन्ने उच्च मानवीय सन्देशलाई आत्मसात् गर्दै बिहानैदेखि रक्तदाताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। यस किसिमका कार्यक्रमले आपत्कालीन अवस्थामा रगतको आपूर्ति सहज बनाउन ठुलो सहयोग पुर्याउने विश्वास गरिएको छ।
यस वृहत् रक्तदान कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, बाँके ले महत्वपूर्ण प्राविधिक सहयोग प्रदान गरेको थियो। रक्त सञ्चार केन्द्रका प्राविधिक तथा विज्ञ टोलीको सक्रिय सहभागितामा स्वास्थ्य मापदण्ड पालना गर्दै रगत संकलन गरिएको थियो।
कार्यक्रमको सफलतासँगै नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले यस महाअभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। आफ्नो व्यस्त समयका बाबजुद रक्तदान गर्न उपस्थित हुने सम्पूर्ण महानुभावहरू, सुरक्षाकर्मी, स्वयम्सेवकहरू तथा नेपाल रेडक्रस सोसाइटी, बाँकेको प्राविधिक टोलीप्रति आयोजकले विशेष आभार प्रकट गरेको छ।
यस्ता रचनात्मक तथा मानवीय कार्यक्रमहरूले समाजमा आपसी सद्भाव बढाउनुका साथै मानवीय सेवाका कार्यमा हातेमालो गर्ने प्रेरणा प्रदान गर्ने आयोजकको भनाइ छ। आगामी दिनहरूमा पनि यसप्रकारका सामाजिक तथा जनउपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।




