२२ आश्विन २०८३, बिहीबार

नेपालगन्जमा जनमत पार्टीको ‘वार्ड–वार्ड, टोल–टोल बुलडोजर बाबा’ अभियान तीव्र वडा नं. १४ र १५ मा जनतासँग प्रत्यक्ष भेटघाट, स्थानीय समस्या र अपेक्षाबारे छलफल

एसीपी संवाददाता

२२ आश्विन २०८३, बिहीबार २३:४९ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, २२ असोज — राष्ट्रिय जनमत पार्टी बाँकेले संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई तीव्रता दिएको छ। पार्टीले सञ्चालन गरिरहेको ‘वार्ड–वार्ड, टोल–टोल बुलडोजर बाबा’ अभियानअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ र १५ मा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ।

नागरिकका समस्या, आवश्यकता र अपेक्षा प्रत्यक्ष रूपमा बुझ्ने तथा पार्टीका एजेन्डाबारे स्थानीयबासीसँग संवाद गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयबासीको सहभागिता रहेको थियो। भेटघाटका क्रममा स्थानीयहरूले सडक, पूर्वाधार, सेवा–सुविधा, रोजगारीलगायतका विषयमा आफ्ना समस्या तथा अपेक्षा नेताहरूसमक्ष राखेका थिए।

कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका केन्द्रीय सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्यद्वय राम निवास शाहू र राजेश बर्मा लगायतको उपस्थिति रहेको थियो।
सभापति शेषले जनताका समस्या सुन्न र समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पार्टीले टोल–टोलमा पुगेर जनसम्पर्क अभियान सञ्चालन गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “राजनीति जनतासँग जोडिनुपर्छ। जनताका वास्तविक समस्या बुझेर उनीहरूको आवाजलाई प्राथमिकताका साथ उठाउनु हाम्रो अभियानको मुख्य उद्देश्य हो।”

त्यस्तै, महासचिव राजा सिंहले संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने बताउनुभयो। उहाँले स्थानीय तहमा देखिएका समस्या पहिचान गरी नागरिकका सरोकारका विषयलाई पार्टीको एजेन्डाका रूपमा अघि बढाइने उल्लेख गर्नुभयो।

कार्यक्रममा जनमत पार्टी बाँकेका जिल्ला नेताहरू मो. अलि कबाडिया, अब्दुल हासिम फारूकी, राम नाथ मन्डल तथा महिला नेतृ रिया पौडेल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

पार्टीका अनुसार ‘वार्ड–वार्ड, टोल–टोल बुलडोजर बाबा’ अभियान अन्तर्गत नेपालगन्जका विभिन्न वडामा जनसम्पर्क, भेटघाट तथा छलफललाई निरन्तरता दिइनेछ। अभियानमार्फत नागरिकका आधारभूत आवश्यकता र स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाउँदै संगठनलाई थप विस्तार गर्ने पार्टीको भनाइ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x