२० आश्विन २०८३, मंगलवार

मेयर पदका लागि नेपालगन्जमा नन्दलाल वैश्यको चर्चा, व्यवसायीदेखि सर्वसाधारणसम्म रोजाइमा

एसीपी संवाददाता

२१ आश्विन २०८३, बुधबार ०१:४४ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, असोज २० — आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व कसले सम्हाल्ला भन्ने विषयमा राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा बढ्न थालेको छ। यसै क्रममा नेपालगन्जका प्रतिष्ठित व्यवसायी तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका छन्।

लामो समयदेखि नेपालगन्जको आर्थिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका वैश्यको नाम आगामी निर्वाचनमा मेयर पदका लागि सम्भावित र बलिया उम्मेदवारका रूपमा स्थानीय स्तरमा चर्चामा आउन थालेको हो।

नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा उद्योगी तथा व्यवसायीका समस्या, व्यावसायिक वातावरण निर्माण र नगरको आर्थिक गतिविधि विस्तारका क्षेत्रमा उनले खेलेको भूमिकालाई उनका समर्थकहरूले सकारात्मक रूपमा लिने गरेका छन्।

व्यवसायिक क्षेत्रमा सक्रिय रहनुका साथै सामाजिक गतिविधिमा समेत संलग्न रहँदै आएका वैश्यलाई नेपालगन्जको आर्थिक तथा भौतिक विकासका लागि निजी क्षेत्रको अनुभव भएको नेतृत्वका रूपमा हेरिएको छ। स्थानीय स्तरमा व्यवसायी मात्रै नभई विभिन्न सामाजिक समूह तथा सर्वसाधारणसँग पनि उनको सम्बन्ध रहेको बताइन्छ।

राजनीतिक दलहरूले आगामी निर्वाचनका लागि उम्मेदवारको औपचारिक टुंगो लगाइसकेका छैनन्। यद्यपि, नगरको नेतृत्वका लागि सम्भावित व्यक्तिहरूको चर्चा सुरु भएसँगै वैश्यको नाम पनि अग्रपंक्तिमा आउन थालेको छ।

नेपालगन्जलाई व्यवस्थित, समृद्ध र आर्थिक गतिविधिको प्रमुख केन्द्रका रूपमा विकास गर्ने नेतृत्वको आवश्यकता रहेको बहस चलिरहेका बेला व्यवसायिक क्षेत्रको अनुभव भएका वैश्यको सम्भावित उम्मेदवारीको चर्चाले स्थानीय राजनीतिक सरगर्मीलाई थप बढाएको छ।

यद्यपि, अन्तिम रूपमा उनी कुन दल वा समूहबाट उम्मेदवार बन्छन् भन्ने विषय भने आगामी राजनीतिक निर्णय र परिस्थितिले निर्धारण गर्नेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x