बङ्गलादेशका हिन्दू र बौद्धहरू माथि भइरहेको अत्याचारको विरोधमा महत्वपूर्ण निर्णयहरू
काठमाडौं – राष्ट्रिय एकता अभियानद्वारा आयोजित सर्वपक्षीय बैठक सम्पन्न: बङ्गलादेशका हिन्दू र बौद्धहरू माथि भइरहेको अत्याचारको विरोधमा महत्वपूर्ण निर्णयहरू सार्वजनिक ।
हामीले बङ्गलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेको अत्याचारको विरोधमा विभिन्न धार्मिक, राजनीतिक र सामाजिक संघ-संगठनहरूको सर्वपक्षीय बैठक सम्पन्न गरेका छौं। यस बैठकमा सहभागीहरूले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि महत्वपूर्ण निर्णयहरू गरेका छन्।
बैठकमा प्रतिनिधि सभा सदस्य किरण साह, विश्लेषक एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सलाहकार अरुण कुमार सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दू महासंघका अर्जुन वस्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणमी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियंता खेमनाथ आचार्य, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका महासचिव रामचंद्र तिवारी, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, श्री नेपाल वैदिक संचार केन्द्रकी घमा भट्टराई, जरो किलो पार्टीका महासचिव प्रकाश श्रेष्ठ, नागरिक शक्ति नेपालका महासचिव ॐ ढकाल, दीपक सिंह महर्जनलगायतको सहभागिता थियो।
बैठकमा बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा शरण दिन नेपाल सरकारले घोषणा गर्न दवाव दिने, र परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेशलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि दमन रोक्न कुटनीतिक नोट पठाउन दबाब दिने निर्णय गरियो।
हामीले नेपालस्थित बङ्गलादेशको दूतावास घेराउ कार्यक्रमको योजना समेत बनाएका छौं। घेराउ कार्यक्रममार्फत बङ्गलादेश सरकारलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेको अत्याचारको विरुद्धमा कडा सन्देश पठाउने उद्देश्य राखिएको छ।
बैठकमा सहभागीहरूले बङ्गलादेशमा भएका अत्याचारहरूको विरोधमा आवाज उठाउन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन, र नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट प्रभावकारी कदम चाल्न आग्रह गर्ने निर्णय गरेका छन्। बैठकका सहभागीहरूले बङ्गलादेशमा भइरहेको क्रूरतापूर्ण घटनाहरूको विरोधमा सबैलाई एकजुट भएर लड्न आह्वान गरेका छन्।
हाम्रो सबैको सामूहिक प्रयासले बङ्गलादेशका पीडित धर्मावलम्बीहरूको रक्षा गर्न र मानव अधिकारको संरक्षण गर्न महत्वपूर्ण योगदान दिनेछ। हामी सबै एकजुट भएर यस महान कार्यमा सामेल होऔं।



