१५ दिने संगठन सुदृढीकरण अभियानको समीक्षा गर्दै नेपाली कम्युनिष्ट पार्टी बाँके
दिनेश ठाकुर नेपालगन्ज, असोज १९ — नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला समितिले सञ्चालन गरेको १५ दिने ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’को समीक्षा बैठक जारी रहेको छ।
जिल्ला समितिको आयोजनामा बाँकेको रझेनास्थित मिनिपार्क रिसोर्टमा भइरहेको समीक्षा बैठकमा अभियानका क्रममा भएका संगठनात्मक गतिविधि, जनसम्पर्क विस्तार, जनतासँगको सम्बन्ध, वडा तहसम्मको संगठनको अवस्था तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल भइरहेको छ।
जिल्ला संयोजक दीपक जीएमको संयोजकत्वमा भइरहेको बैठकलाई अभियानको औपचारिक समीक्षा मात्र नभई संगठनको वास्तविक अवस्था पहिचान, देखिएका कमजोरीको आत्मसमीक्षा र आगामी कार्ययोजना निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
१५ दिनसम्म बाँकेका विभिन्न क्षेत्र, पालिका, वडा तथा समुदायमा केन्द्रित भएर सञ्चालन गरिएको अभियानको उद्देश्य पार्टी संगठनलाई जनताको तहसम्म पुर्याउने, स्थानीय समस्या तथा जनअपेक्षा बुझ्ने, जनसम्पर्क विस्तार गर्ने र संगठनात्मक गतिविधिलाई थप गतिशील बनाउने रहेको बताइएको छ।
समीक्षा बैठकमा जिल्लाका सबै पार्टी वडा अध्यक्षहरूले आफ्नो वडामा अभियानका क्रममा भएका गतिविधि तथा संगठनको अवस्थासम्बन्धी वडागत प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ती प्रतिवेदनका आधारमा संगठनलाई थप व्यवस्थित तथा सुदृढ बनाउने रणनीति तय गरिने बताइएको छ।
बैठकमा अभियानका क्रममा देखिएका संगठनात्मक सबलता र कमजोरी, जनतासँगको सम्बन्ध, कार्यकर्ताको परिचालन, संगठन विस्तारको अवस्था तथा आगामी दिनमा पार्टी गतिविधिलाई थप प्रभावकारी र जनमुखी बनाउने उपायबारे गम्भीर छलफल भइरहेको छ।
पार्टी संगठनको प्रभाव केवल संरचना र सदस्य संख्यामा मात्र नभई जनतासँगको सम्बन्ध, जनजीविकाका सवालमा निरन्तर उपस्थिति र कार्यकर्ताको सक्रियतामा निर्भर रहने विषयमा पनि बैठकमा जोड दिइएको छ। अभियानबाट प्राप्त अनुभवलाई आगामी कार्यदिशासँग जोडेर निरन्तर जनसम्पर्क र संगठन निर्माणमा प्रयोग गर्नुपर्ने धारणा नेतृत्वले अघि सारेको छ।
त्यसैगरी, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, सामाजिक न्याय तथा स्थानीय विकासलगायत जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालमा पार्टीको भूमिका स्पष्ट बनाउँदै जनताका समस्यासँग निरन्तर जोडिनुपर्ने विषय पनि बैठकको छलफलको महत्वपूर्ण हिस्सा बनेको छ।
समीक्षा बैठकले अभियानका क्रममा प्राप्त अनुभवलाई संस्थागत गर्दै संगठन कमजोर रहेका क्षेत्रमा संगठन विस्तार गर्ने, निष्क्रिय संरचनालाई चलायमान बनाउने, जनतासँगको प्रत्यक्ष सम्बन्धलाई निरन्तरता दिने तथा पार्टीका गतिविधिलाई परिणाममुखी बनाउने आगामी रणनीति तय गर्ने जनाइएको छ।
यसैबीच, जिल्ला नेतृत्वले १५ दिने अभियानलाई एकपटकको कार्यक्रमका रूपमा सीमित नगरी त्यसबाट प्राप्त जनसम्पर्क र संगठनात्मक ऊर्जालाई निरन्तर अभियानमा रूपान्तरण गर्नुपर्ने धारणा अघि सारेको छ। जनताबीच पुग्ने, उनीहरूका समस्या र अपेक्षा सुन्ने तथा उठेका सवालमा राजनीतिक र सामाजिक रूपमा भूमिका निर्वाह गर्ने कार्यलाई संगठन निर्माणको आधार बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
जिल्ला संयोजक जीएमको संयोजकत्वमा भइरहेको बैठकले १५ दिने अभियानको उपलब्धिको समीक्षा गर्नुका साथै अब बाँकेमा पार्टी संगठनलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा समेत कार्ययोजना निर्माण गर्ने अपेक्षा गरिएको छ।
बैठकमा बाँके जिल्लामा उपलब्ध स्थायी समिति सदस्य, केन्द्रीय तथा प्रदेश समिति पदाधिकारी एवं सदस्यहरूका साथै जिल्ला, पालिका र वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ।



