आगजनी प्रकरण : राष्ट्रिय महिला आयोग र महान्यायाधिवक्ता कार्यालयमा उजुरी दर्ता
गुलरिया–१० पर्सिया गाउँ आगजनी प्रकरण : राष्ट्रिय महिला आयोग र महान्यायाधिवक्ता कार्यालयमा उजुरी दर्ता
गरिएको छ ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १० स्थित पर्सिया गाउँमा भएको आगजनी घटनाका सम्बन्धमा पीडित पक्षलाई न्याय दिलाउन राष्ट्रिय महिला आयोग र महान्यायाधिवक्ता कार्यालय, काठमाडौंमा औपचारिक उजुरी दर्ता गरिएको छ।
गत मिति २०८२/०९/१० गते पर्सिया गाउँका ५ जना बासिन्दाको घर केही असामाजिक तत्वद्वारा जलाईएको थियो। घटनापछि जिल्ला प्रशासन कार्यालयले केही व्यक्तिहरूलाई पक्राउ गरे तापनि सरकारी वकिल, दोषी पक्ष र जिल्ला प्रशासन कार्यालयबीचको मिलोमतोका कारण १० दिनमै उनीहरूलाई हिरासतबाट मुक्त गरिएको उजुरीमा उल्लेख गरिएको छ।
प्रशासनको यस्तो लापरवाहीले समाजमा न्यायको अनुभूति नहुने र पीडित पक्ष थप असुरक्षित बन्ने अवस्था सिर्जना भएको भन्दै आज मिति २०८२/०९/२४ गते राष्ट्रिय महिला आयोग तथा महान्यायाधिवक्ता कार्यालयमा उजुरी दर्ता गरिएको जनाइएको छ।
उजुरीमार्फत सम्बन्धित निकायलाई घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पीडित पक्षलाई तत्काल न्याय, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्न तथा दोषीहरूलाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ।
उजुरीकर्ताहरूले चेतावनी दिँदै भनेका छन्, “यदि यस्ता घटनाहरू कुनै पनि समाजमा निरन्तर रूपमा दोहोरिरहे भने हामी सडकदेखि सदनसम्म आन्दोलन पुर्याउनेछौं र दोषीहरूलाई कानुनी कारबाहीको कठघरामा उभ्याएरै छाड्नेछौं।”
घटनाले बर्दिया जिल्लामा शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि गम्भीर प्रश्न उठाएको छ।


