२ मंसिर २०८३, मंगलवार

टर्की दियानत फाउन्डेसनको सहयोगमा ८० अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण ६ विद्यालयका विद्यार्थी लाभान्वित, झोला, कापी, कलमसहित आवश्यक सामग्री प्रदान

एसीपी संवाददाता

२ मंसिर २०८३, मंगलवार २३:५१ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज,मँसिर१ गते — टर्की दियानत फाउन्डेसनको सहयोगमा इस्लामि संघ नेपालले बाँकेका ६ विद्यालयमा अध्ययनरत ८० जना अनाथ बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ।

फाउन्डेसनको “Unutursan Yetim Kalır – 2026” अन्तर्गत सञ्चालित Orphan Support Projects / Yetim Etkinlik ve Sosyal Destek Projesi मार्फत नेपालगन्जस्थित आइडियल पब्लिक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रशान्त श्रेष्ठले विद्यार्थीहरूलाई सामग्री वितरण गर्दै बालबालिकाको शिक्षा र भविष्य निर्माणमा यस्ता सहयोगात्मक कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।

बालबालिकालाई अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले झोला, कापी, कलम, पेन्सिल, ज्यामिति बक्स, थर्मस र इरेजरलगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

सामग्री प्राप्त गर्ने विद्यार्थीमध्ये आइडियल पब्लिक माध्यमिक विद्यालय नेपालगन्जका ३० जना, मदरसा आइशातुल बनात बालिका माध्यमिक विद्यालयका १५ जना, साइनिङ फ्युचर एकेडेमीका २० जना, हेरा पब्लिक आधारभूत विद्यालय नरेनापुरका १० जना, लुम्बिनी एकेडेमी नेपालगन्जका ३ जना र मदरसा तालिमुल कुरआन जैसपुरका २ जना रहेका छन्।

कार्यक्रममा इस्लामि संघ नेपालका प्रतिनिधिहरूले अनाथ तथा विपन्न बालबालिकाको शिक्षा र उज्ज्वल भविष्य निर्माणमा समाजका सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

शैक्षिक सामग्री प्राप्त गरेपछि बालबालिकाहरू खुसी भएका थिए। विद्यालय व्यवस्थापनले बालबालिकाको शिक्षामा सहयोग पुर्‍याएको भन्दै टर्की दियानत फाउन्डेसन र इस्लामि संघ नेपालप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापनका प्रतिनिधि तथा इस्लामि संघ नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x