त्रिभुवन विमानस्थलमा ६३५ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रूपमा सुन ल्याउने प्रयास गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झान गुओकिङ्ग रहेका छन् । उनी हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका थिए ।
विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा उनको गतिविधि शङ्कास्पद देखिएपछि थप परीक्षण गरिएको थियो । सोही क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा ६३५ दशमलव ९६ ग्राम तौलको सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
भन्सार प्रक्रिया छलेर उक्त पदार्थ नेपाल भित्र्याउन खोजेको आशङ्कामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले घटनाको पुष्टि गर्दै बरामद पदार्थ र पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
बरामद गरिएको पदार्थ वास्तविक सुन हो वा होइन भन्ने विषय परीक्षण तथा अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।


